स्वास्थ्य चौकीको दुर्दशा : ‘डेलिभरी बेड नहुदाँ टेवुलमा नै प्रसुती’

बुद्धि पुन,
सल्यान २८, माघ ।
गर्भवति महिलालाई प्रसुति बनाउन स्वास्थ्य संस्थामा लैजानुपर्छ । गर्भवति महिला र शिशुको स्वास्थ्यमा समस्या नहोस् भनेर स्वास्थ्यकर्मीको निगरानीमा नै प्रसुती गराईन्छ । तर गर्भवति महिलालाई टेवुलमा प्रसुति गराईन्छ भनेको सुन्दा तपाई अच्चम मान्नु हुन्छ ?

डेलिभरी बेड नहुदाँ स्वास्थ्य चौकी सिद्धेश्वरी सल्यानमा भने टेवुलमा नै प्रसुती गराउदैँ आईएको छ । स्वास्थ्य चौकीमा ३÷४ बर्ष पहिले ७५ हजार रुपैँया खर्च गरेर एउटा डेलिभरी बेड ल्याईएको थियो । तर करिब १ बर्ष अगाडी भाँचिएर काम नलाग्ने भयो । नयाँ डेलिभरी बेडको जोहो नहुदाँ जोखिम मोलेर नै टेबुलमा डेलिभरी बनाउदैँ आईएको छ ।


डेलिभरी बेडको अभावमा टेवुलमा नै प्रसुति बनाउनुपर्ने बाध्यता भएको स्वास्थ्य चौकीका सि अनमी मिना डिसीले बताउनुभयो । ‘यहाँ भएको बेड करिब १ बर्ष पहिले भाँचियो, हामीले गाउपालिकामा यस बिषयमा माग गरेका छौँ, तर अहिले सम्म प्राप्त भएको छैन्, बेडको अभावमा गर्भवतिलाई टेवुलमा नै प्रसुति बनाउदैँ आएका छौँ’ उहाँले भन्नुभयो ‘बेड नहुदाँ प्रसव पीडाले उफ्रिने वेला भाँचिएर भुइँमा खस्ने सम्भावना हुन्छ ।’

‘टेवुल साँधुरो छ, अग्लो पनि छ, बेडको अभावमा त्यसैमा पनि प्रसुति बनाउदैँ आएका छौँ, समस्या सँगै जोेखिम पनि धेरै छ’ उहाँले थप्नुभयो । बिगतमा डेलिभरी बेडमा प्रसुति गराएको स्मरण गर्दै उहाँले भन्नुभयो ‘टेबुलमा त निकै समस्या हुन्छ, एक्लै प्रसुति बनाउन सकिदैन्, गर्भवतिलाई समाउन मान्छे चाहिन्छ ।’

यस्तै प्रसुति बनाउदाँ आबश्यक पर्ने अक्सेटोक्सिन भ्याक्सिनको पनि अभाव भएको अर्का अनमी सर्मिला रोकाले बताउनुभयो । ‘हामी कहाँ अक्सेटोक्सिन भ्याक्सिन छैन्, स्वास्थ्य शाखाले पठाएको २÷३ जनालाई मात्रै पुग्यो, हामीले मेडिकलबाट किनेर प्रयोग गर्न बाध्य भएका छौँ’ उहाँले भन्नुभयो । स्वास्थ्य चौकीमा पेरिलाईट नहुदाँ रातीको समयमा प्रसुति बनाउदाँ मोवाईलको प्रयोग गर्दै आएको उहाँको भनाई छ ।

यस्तै प्रसुति भएपछि राखिने बेडमा आबश्यक कपडा नहुदाँ समस्या भएको छ । अहिले एउटा कम्मलमा मात्रै सुत्केरी आमा र बच्चालाई राख्नुपर्ने बाध्यता रहेको छ । चालु आर्थिक बर्षको साउन यता यस स्वास्थ्य चौकीबाट २५ जनाले प्रसुति सेवा लिएका छन् भने ११ जना २० बर्ष मुनिका रहेका छन् । स्वास्थ्य चौकी प्रमुखको असोजमा सरुवा भएदेखी अहिले सम्म प्रमुख बिहिन अबस्थामा रहेको छ ।


बुधबार नै डेलिभरी बेड पठाउछौँ : स्वास्थ्य शाखा
सिद्धकुमाख गाउपालिका अन्र्तगत रहेको स्वास्थ्य शाखाले स्वास्थ्य चौकी सिद्धेश्वरीमा भोली बुधबार नै डेलिभरी बेड पठाउने जनाएको छ । स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र यादवले पुस महिनाको बैठकमा स्वास्थ्य चौकीमा डेलिभरी बेडको अभाव भएको कुरा आएको र अहिले खरिद गरेर तयारी अबस्थामा राखिएको बताउनुभयो ।

स्वास्थ्य चौकी सिद्धेश्वरी र चाँदेका लागी बेड खरिद गरिएको उहाँको भनाई छ । नागरिकको स्वास्थ्यको लागी स्वास्थ्य शाखाले सक्रिय भएर काम गरिरहेको बताउदैँ उहाँले अक्सेटोक्सिन भ्याक्सिन तत्काल उपलब्ध नभएको अबस्थामा स्वास्थ्य चौकीमा रहेको बजेटबाट खरिद गरेर प्रयोग गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

सुत्केरीका लागी उपाध्यक्ष पोषण पावर कार्यक्रम सञ्चालन हुदैँ
सिद्धकुमाख गाउपालिकाले उपाध्यक्ष पोषण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । चालु आर्थिक बर्षको झण्डै ६ महिना पछि गाउपालिकाले सुत्केरी महिलाहरुको लागी उपाध्यक्ष पोषण कार्यक्रम सञ्चालन गर्न लागेको हो । फागुणको पहिलो साताबाट कार्यक्रम सञ्चालन हुने उपाध्यक्ष पुस्पा कुमारी बोहराले जानकारी दिनुभयो ।

एक बोतल तोरीको तेल, एक क्यारेट अण्डा, सागपात तथा फलफूल सहित सुत्केरी भएको एक साता भित्र सुत्केरी महिलालाई भेट्न उपाध्यक्ष पोषण कार्यक्रम लिएर जाने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस