सल्यानमा प्रादेशिक महोत्सव शुरु

परम्परागत तरिकाले बिकास हुदैन् ः मुख्यमन्त्री शाही

बुद्धि पुन

सल्यान २९, माघ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले परम्परागत तरिकाले बिकास नहुने बताउनुभएको छ । पुरानै तरिकाले बिकास गर्दा बिकास निर्माणका कामहरु सुस्त गतिमा हुने भएका कारण परम्परागत तरिकाले बिकास गर्न नसकिने उहाँको जोड थियो । प्रादेशिक कृर्षि, पर्यटन, उद्योग, ब्यापार तथा साँस्कृतिक महोत्सव २०७६ को बुधबार सल्यान श्रीनगरमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री शाहीले बिकास गर्दा पहिले अध्ययन गर्ने,सम्भाव्यता अध्ययन गर्ने र आबश्यकताका आधारमा मात्रै काम थालनी गर्नुपर्ने बताउनुभयो । जिल्लाको आबश्यकताका आधारमा मात्रै बजेट माग गर्नुपर्नेमा उहाँको जोड थियो । अहिले जनतालाई खुसी पार्नका लागी मात्रै योजना सञ्चालन गरिने गरेको बताउदैँ उहाँले पछिल्लो समय जनताले योजना नभई काम र सुबिधा माग गरेको बताउनुभयो ।

‘केन्द्र, प्रदेश र स्थानिय सरकारले कहाँ, कति र के काम गर्ने भनेर स्पष्ट रुपमा खाका तयार पार्नुपर्छ, अनि मात्रै प्राथामिकताका आधारमा काम गर्न सकिन्छ, उहाँले भन्नुभयो ,यसले गर्दा दिगो बिकासका कामको थालनी हुन्छ ।’ निर्माण ब्यबसायीका कारण पनि केही आयोजनाहरु सम्पन्न हुन नसकेको बताउदैँ उहाले तोकिएको समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने कानुन नभएको बताउनुभयो ।

सार्बजनिक खरिद ऐनलाई कडा रुपमा संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । एउटा ठेकेदारले दर्जनौँ कामको जिम्मेवारी लिने तोकिएको समयमा काम नगर्ने गरेको बताउदैँ उहाले भन्नुभयो,‘ठेकेदारलाई नियमन गर्ने खालको कानुन निर्माण गर्नुपर्छ, यसले गर्दा सरकारको बजेट खर्च हुन सकेको छैन् ।’

मुख्यमन्त्री शाहीले बजेट खर्च गर्नका लागी मात्रै नभई बिकास निर्माणका कामलाई दिगो बनाउनको लागी पनि सोच्न सुझाव दिनुभयो । भुगोल र उत्पादनका क्षेत्रले सल्यान जिल्ला ठूलो जिल्ला भएको बताउदैँ उहाले जिल्लामा उत्पादित भएको उत्पादनले कर्णालीका १० जिल्लामा पुग्ने बताउनुभयो ।

‘जिल्लाको उर्वरा भूमिलाई शारदा नदिले कटान गर्दै आएको छ, नदि कटानको लागिको प्रदेश सरकारले बिशेष कार्यक्रम सञ्चालन गरेको उहाले भन्नुभयो । जिल्लामा भएका पर्यटकिय क्षेत्रहरुको बिकासको लागी प्रदेश सरकारले सहयोग गर्न तयार भएको उहाले प्रतिबद्दता व्यक्त गर्नुभयो । जिल्लाको श्रीनगरलाई शहरीकरणको रुपमा बिकास गर्ने उहाको भनाई थियो ।

कार्यक्रममा बोल्दै पुर्वसामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेतले जिल्लामा सडक पुर्बाधारलाई प्राथामिकता दिएर काम गरिरहेको बताउनुभयो । जिल्लाको बिकास लागी पहिलो प्राथामिकतामा सडक र दोस्रोमा शिक्षालाई राखेर काम गरिरहेको बताउनुभयो । सल्यानबाट निर्वाचित प्रनितिधिसभा सदस्य समेत रहेका बस्नेतले जिल्लाको बिकासको लागी सबै क्षेत्रसंग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सल्यान सम्भावना नै सम्भावना भएको जिल्ला भएको बताउनुभयो । प्राकृतिक, साँस्कृतिक, धार्मिक, खनिज तथा धातुहरुले भरिएको जिल्ला सल्यान भएको बताउदै उहाले जिल्लामा भएका सम्भावनाका खानीहरुको खोज अनुसन्धान तथा प्रर्बद्धन गर्न आबश्यक भएको बताउनुभयो ।

कर्णाली प्रदेश सरकारले प्रदेशको बिकासका लागी करोडौँ रुपैँया बिनियोजन गरेको उहाँले बताउनुभयो । जिल्लाको बिकास र समृद्धिको लागी केन्द्र, प्रदेश र स्थानिय सरकार मिलेर काम गर्नुको बिकल्प नभएको उहाले बताउनुभयो । ‘राजनितिक आस्था र बिचारका आधारमा भन्दा सिंगो सल्यानको बिकासको लागी सबै मिलेर अगाडी बढ्नुपर्छ’ उहाले भन्नुभयो ।

जिल्लामा बिकास निर्माणका कामहरु तिव्र गतिमा भैरहेको बताउदैँ उहाले प्रदेश राजधानी जोड्ने सडक अबको २ बर्षमा कालोपत्रे हुने बताउनुभयो । सल्यान कृषिको थुपै सम्भावना भएको जिल्ला भएको बताउदैँ उहाले भन्नुभयो ‘सल्यानमा स्रोत केन्द्रको स्थापना गरौँ, खाद्यन्न, फलफूल, तरकारी, नगदेँ बालीको सम्भावना भएको क्षेत्र सल्यान हो, जिल्लामा कोल्ड स्टोर निर्माणको लागी हातेमालो गरेर अगाडी बढौँ, लगानी गर्न प्रदेश सरकार तयार छ ।’

उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष बीर बहादुर चलाउनेको अध्यक्षतामा भएको कायएक्रममा उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र राज ढकाल, उद्योग बाणिज्य महासंघका मेला संयोजक दिल सुन्दर श्रेष्ठ, जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्ट, शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी, छत्रेश्वरी गाउपालिका अध्यक्ष सन्तोष केसी लगाएतकाले बोल्नुभएको थियो । बरिष्ठ उपाध्यक्ष कुमार बुढाथोकीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन महासचिब भरत कुमार बस्नेतले गर्नुभएको थियो ।

कृषि, पशु, वन, उद्योग, ब्यापार, पर्यटन बिकासको परिकल्पना, ब्यबसायीकरणद्धारा आर्थिक उन्नती गरी समृद्ध समाजको स्थापना भन्ने मुल नाराका साथ महोत्सवको आयोजना गरिएको हो । बुधबार देखी शुरु भएको महोत्सव फागुण ११ गते सम्म सञ्चालन हुने छ । स्थानिय उत्पादनको प्रर्बद्धन र बजारीकरण गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा २ सय बढी स्टलहरु रहेका छन् । करिब ५ करोड बराबरको कारोवार गर्ने लक्ष्य सहित सञ्चालन गरिएको महोत्सव अबधि भर करिब १ लाख दर्शकले अबलोकन गर्ने आयोजकको दावी छ । महोत्सवमा राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुको प्रस्तुती रहने छ ।

प्रतिक्रिया दिनुहोस