बुद्धि पुन,
सल्यान ३, फागुन ।
कर्णाली प्रदेशसभा सदस्य गुलाब जंग शाहले खेलाडीले खेल क्षेत्रमा जस्तै किसानहरुले उत्पादनमा प्रतिस्पर्धा गर्नुपर्ने बताउनु भएको छ । खेल क्षेत्रमा जस्तै किसानले उत्पादन गरेको कृषिजन्य बस्तुको प्रतिस्पर्धा हुनसके मात्रै स्तरीय उत्पादन हुने र बजार पनि राम्रो पाउने बताउनुभएको हो ।
दोस्रो वडाअध्यक्ष कप खेलकुद प्रतियोगिताको शुक्रबार जिल्लाको छत्रेश्वरी गाउपालिका वडा नम्बर २ रानीपोखरीमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सल्यान जिल्ला सम्भावना नै सम्भावना भएको जिल्ला भएको बताउदै उहाँले कृषिलाई व्यावसायिक उत्पादनमा जोड्न सके आर्थिक रुपमा सबल हुने बताउनुभयो ।
सल्यान प्रदेश सभा क बाट निर्वाचित शाहले कृषि र पर्यटनलाई संगै जोडेर काम गर्नुपर्नेमा जोड दिनुभयो । यस वडालाई युद्ध पर्यटन संगै जोडेर काम गर्नसके बिकास निर्माणका कामले तीव्रता पाउने बताउनुभयो । उहाँले सभ्य र समृद्व समाज निर्माणको लागि प्रदेश सरकारले लगानी गर्दै आएको बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउपालिका अध्यक्ष सन्तोष केसीले भ्रष्टाचारमुक्त गाउपालिका भएको बताउनुभएको छ । गाउपालिकामा रहेका जनप्रतिनिधि र कर्मचारीमा आर्थिक लोभ नभएका कारण गाउपालिका भ्रष्टाचारमुक्त रहदै बिकास निर्माणका काममा सक्रिय रहने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको बिकासको गाउपालिकाले काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै गाउपालिका उपाध्यक्ष सीता केसीले खेलकुद क्षेत्रको बिकासको लागि लगानी गर्न गाउपालिका तयार रहेको बताउनुभयो । उहाँले खेल खेल्नु स्वास्थ्यको लागि पनि फाइदाजनक हुने भएकाले खेल क्षेत्र र खेलाडीको बिकासको लागि गाउपालिकाले लगानी गर्ने बताउनुभयो ।
वडाअध्यक्ष प्रेम बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा छत्रेश्वरी गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नेव बहादुर खड्का, नेकपाका छत्रेश्वरी गाउँ कमिटी अध्यक्ष ओज बहादुर बुढाथोकी, नेकपाका जिल्ला कमिटी सदस्य डिल्ली बहादुर ओली लगाएतकाले बोल्नु भएको थियो ।
अन्तरनिहित प्रतिभाको पहिचान ः शिक्षा, खेलकुद, कृषि र पर्यटन प्रर्बद्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ शुरु भएको कार्यक्रम फागुन ५ गतेसम्म संचालन हुने छ । सो अबशरमा विद्यालय स्तरीय तथा टोल स्तरीय विभिन्न खेलकुद प्रतियोगिता संचालन भैरहेका छन । कार्यक्रममा किसानले उत्पादन गरेका कृषिजन्य बस्तुको प्रदर्शनी गरिएको थियो । कार्यपालिका सदस्य टिकाराम बिकको अध्यक्षतामा भएको कार्यक्रमको संचालन दिपक केसीले गर्नु भएको थियो ।