सल्यान ५, फागुन ।
सल्यानको शारदा नगरपालिका स्तरीय गौरवको आयोजना अन्र्तगत मोटरेवल पुलको काम तिव्र गतिमा भैरहेको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १ र १२ लाई जोड्ने गरी शान्तिनगर रेशमज्युलामा मोटरेवल पुलको निर्माण कार्य तिव्र गतिमा भैरहेको हो ।
५० मिटर लम्बाई र ८ मिटर चौडाई भएको पुलको ३ करोड ८० लाख ४५ हजार रुपैँयामा गौरी पार्वती÷जुद्ध एण्ड पुर्ण जेभी तुलसीपुरले निर्माणको जिम्मेवारी लिएको छ । अहिलेसम्म पुल निर्माणको ५० प्रतिशत काम सकिएको र आउदोँ असार महिना भित्रमा गाडी सञ्चालन गर्ने गरी काम भैरहेको निर्माण कम्पनीका प्रोप्राईटर पुर्ण भण्डारीले जानकारी दिनुभयो । उहाँले नगरपालिकाले समयमा रकम भुक्तानी गर्न सके यो बर्षमा नै पुल निर्माण कार्य पुरा हुने तर भुक्तानी रोखिएमा पुरा गर्न नसकिने बताउनुभएको छ ।
यता शारदा नगरपालिकाले बजेट सुनिश्चित भैसकेको अबस्थामा पुल निर्माण कार्यको भुक्तानी नरोकिने जनाएको छ । नगरप्रमुख सुरेश अधिकारीले पुलको लागी नगरपालिकाले बजेट सुनिश्चित गरिसकेको अबस्थामा पुल निर्माणको लागी बजेटको समस्या नहुने बताउनुभयो । रकम भुक्तानीको लागी नगरपालिकालाई केही समस्या नरहेको बताउदैँ उहाँले बरु पुलको गुणस्तरियतामा ध्यान दिन सुझाव दिनुभएको छ । २०७८ जेठ २० गतेभित्र पुल निर्माण कार्य सक्नेगरी निर्माण कम्पनी र नगरपालिका बिच सम्झौता भएको थियो ।