मगर संस्कृतिको संरक्षण गर्दै सल्यानका मगर अगुवा

बुद्धि पुन,
सल्यान १५, फागुन ।
मगर संस्कृति लोप हुन लागेको भन्दै त्यसको संरक्षणका लागि सल्यानका मगर अगुवाहरु सक्रिय भएका छन् । नेपालमा बसोबास गर्दै आएका आदिवासी जनजातिहरूमध्ये सङ्ख्यात्मक रूपले सबैभन्दा ठूलो जातीय समुदाय रहेका मगरको संस्कृति नै लोप हुन थालेपछि त्यसको संरक्षणका लागी सल्यानका मगर अगुवाहरु सक्रिय भएका हुन् ।

मौलिक कला संस्कृति नै लोप हुने गरी देखिएको आधुनिकताले मगर पहिचान गुम्न थालेकोले संस्कृतिको संरक्षण गर्न आबश्यक रहेको उनीहरुले बताएका छन् । मगर अगुवा सुरेन्द्र बुढा मगरले मगर बस्ती रहेको सल्यानमा कला, संस्कृति, रहन, सहन र भेषभूषालाई संरक्षण गर्दै पुस्ता हस्तान्तरणका लागी पनि आफुहरु सक्रिय भएर लागेको बताउनुभयो ।

खास गरेर मगर समुदायका पुरुषले शीरमा पगडी, निधारमा सेतो टीका, काँधमा सेतो गाँदो र कम्मरमा सेतो धोती पहिरिने गर्छन् । त्यसैगरी ढाँकाको ब्लाउज, एक काँधमा पटुकी र कम्मरमा हँसियासहितको खुर्पेटो र लुङ्गी मगर समुदायमा महिलाहरूको पोषाक हो । तर पछिल्लो समयमा यो पोषाकको प्रयोग समेत सीमित बनेको छ ।

तस्वीर :फाईल
जातीय पहिचानको प्रमुख आधार मानिने मगर पोषाक विशेष पर्व र रमझममा मात्रै खुम्चिएको पाइन्छ । बढ्दो पश्चिमा शैलीतर्फ केन्द्रित भएकाले पोषाक संरक्षणमा समेत चुनौती थपिदैं गएको मगर समुदायका अगुवा डिल्ली बहादुर घर्ती मगरले बताउनुभयो । मगर समुदायको मौलिक संस्कृतिलाई संरक्षणका लागि राज्यले नै निती बनाउनुपर्ने उहाँको भनाई छ ।

ऐतिहासिक कालदेखि नै मगरात भनिने राप्ती र गण्डकी क्षेत्रमा मगर जातिको सघन बसोबास रहँदै आएको छ । मगर भाषा सिक्नको लागी जिल्लाको छत्रेश्वरी गाउपालिका ५ लेखपोखरा, बुद्धनगरमा मगर भाषा प्रशिक्षण केन्द्र स्थापना गरिएको छ । बिभिन्न निकायहरुको सहयोगमा भवन निर्माण गरिएको हो । यसले पनि मगर संस्कृति तथा भाषा र भेषभुषाको संरक्षणमा मद्धत मिल्ने मगर अगुवाहरुको भनाई छ ।

यसैबिच ३८ औँ मगर दिवश सल्यानमा पनि मनाईएको छ । मगर भेषभुषामा सजिएका मगरहरुको सहभागितामा जिल्लाको छत्रेश्वरी गाउपालिका ५ लेखपोखरा स्थित बुद्धनगरमा दिवश मनाईएको हो । दिवशको अबशरमा मगर संस्कृति झल्किने बिभिन्न पोसाक तथा सालैजु, कौरा लगाएतका साँस्कृतिक नृत्यहरु पनि प्रर्दशन गरिएको थियो ।

मगर संघका अध्यक्ष निम बहादुर पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष निम बहादुर बुढा मगर, छत्रेश्वरी गाउपालिका ५ का वडाअध्यक्ष लिलाधर घर्ती मगर, वेल बहादुर बुढा मगर, डिल्ली बहादुर घर्ती मगर, लोक बहादुर बुढा मगर, पूर्ण बहादुर बुढा मगर, सुरेन्द्र बुढा मगर लगाएतकाले बोल्नु भएको थियो । सोही अबशरमा बुद्धनगरमा बुद्धको मूर्ती स्थापना गरिएको छ भने मोतिबिहार भक्तपुरबाट भिक्षु अर्जुन र भिक्षु उत्तमको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित