ढकमक्क फूल्यो नेपालको राष्ट्रिय फूल ‘लालीगुराँस’ (फोटो सहित)

सल्यान १६, फागुन ।
गुराँसको बखान त गरेर साध्य छैन । गुराँससँग हाम्रो आत्मियता पनि जोडिएको छ । नेपालको राष्ट्रिय फूल कुन हो भन्दा ‘लाली गुराँस’ भन्दै हुर्किएका हामीलाई गुराँस नौलो रहेन । हामीले गुराँसको गीत गाएका छौ । गुरासको सौन्दर्यमा उमंगित भएका छौ । गुराँसको उत्सव गरेका छौ ।

बनैभरी फुलिदिने गुराँसले चैत्र र वैशाखमा बनपाखालाई ढकमक्क बनाइदिन्छ । कसैले नरोपे पनि, कसैले नहुर्काए पनि, कसैले मलजल नगरे पनि, कसैले स्याहार नगरेपनि गुराँसले बनजंगललाई शोभायमान बनाइदिन्छ । हामीले लाली गुराँस त सुन्दै आयौ । तर, गुराँस थरीथरीका हुन्छन् । अनेक रंगमा फूल्ने यी गुराँस नेपालमा मात्र ३३ प्रजातिका छन् भनेर अभिलेख गरिएको छ । यसअघि ३० प्रजातिका मात्र पाइन्छन् भन्ने तथ्य बाहिरिएको थियो ।त्यसो न नेपालका पहाडी भेगहरुमा गुराँस प्रशस्तै पाइन्छ । बनजंगल नै गुराँसले हराभरा हुन्छ । जब बनजंगलमा ढकमक्क गुराँस फूल्छ, बनजंगलले नै उत्सव मनाइरहेको भान हुन्छ । भीरपाखा ढाक्नेगरी फूलेका गुराँसले सौन्दर्य पारखीको मन त लोभ्याउन नै भयो । गुराँसको यही सौन्दर्यबाट मोहित भएर मुलुकको विभिन्न ठाउँमा उत्सव नै आयोजना गरिन्छ, गुराँस उत्सव ।

गुराँस आफैमा सौन्दर्य हो । गुराँसका फूलहरुले जो कोहीलाई लोभ्याउँछ । गुराँसको औषधीय मूल्य पनि छ । रातो रंगको गुराँस पोषकतत्वले भरिपूर्ण मानिन्छ । गाउँघरतिर अझैपनि गुराँस राख्ने र औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । घाँटी दुखेको बेला वा घाँटीका केही अड्किएमा गुराँस खान दिइन्छ । कलेजो तथा मिर्गौलाको समस्या भएमा पनि गुराँस सेवन उपयोगी मानिन्छ ।
सल्यानका बिभिन्न बनजंगलहरुमा पनि अहिले गुराँस फुूल्न शुरु भएको छ । जिल्लाको बागचौर नगरपालिका ९ परिलेखमा लिईएका केही तस्वीरहरु ।

प्रतिक्रिया दिनुहोस