सल्यान १७, फागुन ।
सल्यानको सिद्धकुमाख गाउँपालिकाको छैठौं गाउँसभा तथा हिउदे अधिवेशन सम्पन्न भएको छ । गाँउसभाले हाल सम्म सम्पन्न भएका कार्यक्रमको खर्च अनुमोदन गरेको छ । गाउपालिकाका अध्यक्ष चित्र बहादुर चलाउनेको अध्यक्षता शुरु भएको गाउँसभामा उपाध्यक्ष पुष्पा कुमारी बोहराले संशोधन सहित तत्काल गर्नुपर्ने योजना तथा कार्यक्रमको लागि झण्डै १ करोड बजेट गाउँसभामा पेश गर्नुभएको थियो ।
सभामा प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मीले चालु आर्थिक बर्षमा विनियोजित बजेटको चालु तर्फ ३५.६३ प्रतिशत र पूँजिगत तर्फ २७.३१ प्रतिशत गरी कुल बजेटको ३१.८३ प्रतिशत खर्च भएको विवरण पेश गर्नुभएको थियो । गाँउसभाले सिद्धकुमाख गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई ऐन २०७६ समेत पारित गरेको छ ।
सभामा विद्येयक पेश गर्दै सामाजिक विकास समिती संयोजक रुद्र बुढाथोकीले अव सिद्धकुमाख गाउँपालिकाको स्वास्थ्यको क्षेत्रमा क्रमिक सुधार हुने बताउनुभएको छ । यस ऐनमा स्वास्थ्य सेवालाइ प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेवक परिचालन, स्वास्थ्य चौकी तथा इकाइमा कर्मचारी व्यवस्थापन तथा अन्य सेवाहरुको बारेमा समेटिएको छ ।
गाउँसभामा बोल्ने सदस्यहरुले विगतका वर्षहरु जस्तै टुक्रै योजनाहरु धेरै छनौट भएको हुदाँ कार्यन्वयनमा ढिला भएको बताएका छन् । सभामा उपाध्यक्ष बोहराद्वारा पेश भएको बजेट संशोधन, प्रमुख प्रशासकीय अधिकृतद्वारा पेश भएको बजेट खर्च विवरण र सामाजिक विकास समिति संयोजकद्वारा पेश भएको स्वास्थ्य विधेयक गाँउसभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।