सल्यान २०, फागुन ।
सल्यानको सिद्धकुमाख गाउपालिका स्तरीय कक्षा ५ र ८ को बार्षिक परिक्षा चैत ६ गते देखी शुरु हुने भएको छ । गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक सहितको सोमबार सम्पन्न संयुक्त वैठकले यस्तो निर्णय गरेको हो ।
गाउँपालिका स्तरीय कक्षा ५ र ८ को बार्षिक परिक्षा चैत्र ६ गतेदेखि सञ्चालन हुने छ भने अन्य कक्षाहरुको परिक्षा यहि फाल्गुन २८ गते देखी नै शुरु गर्ने निर्णय भएको छ । गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेको अध्यक्षतामा सम्पन्न वैठकले कक्षा ५ र ८ को बार्षिक परिक्षा सञ्चालन, व्यवस्थापन तथा अनुगमनका साथै समग्र गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार्नको लागि गर्नुपर्ने कामहरुको बारेमा पनि छलफल गरिएको थियो ।
बैठकले कक्षा ८ को बार्षिक परिक्षाको परिक्षाफलमा अनिवार्य विषयहरुमा कम्तिमा डि प्लस ग्रेड प्राप्त गरेमा मात्र कक्षा ९ मा भर्ना गरिने समेत निर्णय गरिएको छ । विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि २०७२ को चौथो संशोधन २०७५ मा यसलाइ स्पष्ट खुलाइएको हुदाँ परिक्षालाइ मर्यादित बनाइ कक्षा चढाउने प्रणालीमा कडाइ गरिने निर्णय गरिएको छ ।
यस्तै कक्षा ८ र अन्य कक्षाको परिक्षामा सम्वन्धित विद्यालयको प्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिने र चिट रहित परिक्षा बनाउन असहयोग गरेको पाइएमा तत्काल कारबाहीगर्ने निर्णय भएको छ । ग्रेडिङ प्रणालीले विद्यार्थी स्वत पास हुने भन्ने विद्यार्थी तथा अभिभावकमा रहेको भ्रमलाइ हटाउदै न्यूनतम डि प्लस ग्रेड ल्याउन नसक्ने विद्यार्थीलाइ कक्षा चढाउन नहुने छलफलमा निष्कर्ष निकालिएको छ ।
बैठकमा गाउँपालिका उपाध्यक्ष पुष्पा कुमारी वोहरा, प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मी, सामाजिक विकास समिति संयोजक रुद्र बहादुर बुढाथोकी, सि.एम.सि. नेपालका जिल्ला कार्यक्रम संयोजक लोक बहादुर विक, निराजन माद्यामिक बिद्यालयका प्रधानाध्यापक धर्मराज घर्ती र महेन्द्र आदर्श माद्यामिक बिद्यालयका बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रेशम बहादुर बुढाथोकीले बोल्नु भएको थियो ।