अकोरावका महासचिव देवकोटाद्धारा सल्यानका सामुदायिक रेडियोहरुको अवलोकन

सल्यान २०, फागुन ।
सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) का महासचिव गोबिन्द देवकोटाले सामुदायिक रेडियोहरुलाई सरकारले बेवास्ता गरेको गुणासो गर्नुभएको छ । देश संघियतामा गएसँगै तीन तहका सरकारहरु गठन भई काम गरिरहेको अबस्थामा सामुदायिक रेडियोहरुलाई सरकारले खासै वास्ता नगरेको बताउनुभएको हो । मंगलवार सल्यानमा सञ्चालित बिभिन्न सामुुदायिक रेडियोहरुको अबलोकन प्रश्चात रेडियोकर्मीहरु सँग छलफल गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले दुरदराजमा रहेर आवाज बिहिनका आवाज वोल्ने रेडियोलाई सरकारले चासो नदिएको बताउनुभयो । ‘सामुदायिक रेडियाले समाजको हितको लागी काम गरिरहेका छन्, तर पनि केही सरकारको रेडियो प्रतिको बुझाई फरक भएर हो या साझेदारी गर्न नचाहेर हो, सरकार र सामुदायिक रेडियोको सम्बन्ध सोचेअनुसारको प्रगाढ भएको छैन्’ उहाँले भन्नुभयो ।


महासचिव देवकोटाले सामुदायिक रेडियोहरुले सामाजिक, आर्थिक, साँस्कृतिक सँगै हरेक क्षेत्रमा वहस, पैरवी गर्दै आएको बताउनुभयो । सामुदायिक रेडियोले केन्द्र, प्रदेश र स्थानिय सरकारहरु सँग साझेदारी गरेर काम गर्न चाहेको उहाँले बताउनुभयो । आम नागरिकलाई छिटो, छरितो र सत्यतथ्यमा आधारित रहेर सुचना प्रवाह गर्ने भरपर्दो माध्यम रेडियो भएको उहाँको भनाई छ ।

उहाँले जिल्ला स्तरमा रहेका सामुदायिक रेडियोहरु वीचमा आपसी सम्बन्ध कायम गर्न अकोरावले सामुदायिक रेडियो जिल्ला समन्वय समिती गठन अभियान देशभर सञ्चालन गरिरहेको बताउनुभयो । जिल्लामा टिक्न र निरन्तर सञ्चालन हुनको लागी पनि सामुदायिक रेडियोहरु वीचको सम्बन्ध प्रगाढ हुन आबश्यक रहेको बताउनुभयो ।

सो अबशरमा महासचिव देबकोटा सँगै सामुदायिक रेडियो प्रशासक संघ (अकोराव) कर्णाली प्रदेशका अध्यक्ष रमेश कुमार गौतम सहितको टोलीले जिल्लामा सञ्चालित सामुदायिक रेडियो राप्ती, शारदा, तहल्का र कपुरकोट एफ.एम.को अवलोकन गर्नुभएको थियो । छलफलका क्रममा सामुदायीक रेडियोकर्मीहरुले जिल्लाका रेडियोहरुमा आर्थिक स्रोत कम भएको, जनशक्ति टिकाउन समस्या भएको लगाएतका सवालहरु उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस