शारदा नगरपालिकाद्धारा तरकारीको वीउ वितरण

सल्यान २१, फागुन ।
सल्यानको शारदा नगरपालिकाले नगरभित्रका किसानहरुलाई निःशुल्क रुपमा तरकारीको वीउ वितरण गरेको छ । तरकारी उत्पादनबाट घरको आय स्तरवृद्धि गर्नको लागी नगरले तरकारीको वीउ निःशुल्क बितरण गरेको छ । नगरपालिकाको चालु आर्थिक बर्ष २०७६।०७७ को विनियोजित वजेट बाट तरकारी र च्याउको वीउ वितरण गरिएको नगरपालिका अन्र्तगतको कृषि शाखाले जनाएको छ ।

नगरपालिकाका १५ वटै वडा कार्यालय तथा कृषि शाखा मार्फत किसानहरुलाई तरकारी तथा च्याउको वीउ वितरण गर्न थालिएको हो । नगरले तीन हजार प्याकेट मिनि किट (तरकारीको वीउ) र १ हजार ७ सय ५० प्याकेट कन्या च्याउको वीउ वितरण गरेको कृषि शाखाका नायव प्राविधिक सहायक प्रकाश खड्काले जानकारी दिनुभयो । मिनि किटमा सिमी, बोडी, काँक्रा, करेला र भिण्डीको वीउ रहेको छ ।


नगरपालिकाले यस बर्ष कृषिको क्षेत्रमा काम गर्नको लागी रु. १५ लाख रुपैँया विनियोजन गरेको थियो । सोही रकम मध्ये रु.२ लाखले सुर्खेतबाट तरकारीको वीउ र रु.९० हजारले शारदा नगरपालिका १३ सांगारमुलबाट च्याउको वीउ खरिद गरेर वितरण गरेको जनाएको छ । किसानलाई उत्पादनशिल क्षेत्रमा क्रियाशिल बनाउन तरकारीको वीउ वितरण गरिएको खड्काको भनाई छ ।

गरिवी, पिछडिएको बस्ती, वजारको पहुँच भन्दा टाढा, दलित, महिला लगाएतका क्षेत्रलाई प्राथामिकतामा राखेर वीउ वितरण गरिएको उहाँले बताउनुभयो । ‘नगरले कृर्षि क्षेत्रमा वजेट कम विनियोजन गरेका कारण हामीले ठूला योजनाहरु सञ्चालन गर्न सकेका छैनौँ, वजेट कम भएका कारण किसानहरुको लागी तरकारीको वीउ खरिद गरेका छौँ, यो काम वडा स्तरमा गर्नुपर्ने हो, तर प्रर्याप्त वजेट नहुदाँ नगर अन्र्तगतको कृषि शाखाले गर्नुपरेको छ’ उहाँले भन्नुभयो ।

उहाँले यस बर्ष कृषि क्षेत्रमा विनियोजित बजेटको ७५ प्रतिशत काम सकिएको बताउनुभयो । ‘अब हामीले किसानको लागी २ वटा तालिम सञ्चालन गर्न मात्रै वाँकी छ’ उहाँले भन्नुभयो । उहाँले एक घर एक करेसावारी, एक घर एक टनेल, नगर स्तरमा कृषि नर्सरी, यूवा लक्षित स्वरोजगारमुलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य भएपनि पर्याप्त वजेटको अभावमा काम गर्न नसकिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस