दुर्गा बिसी,
सल्यान २६, फागुन ।
सल्यानको पश्चिम क्षेत्रमा अबस्थित बनगाड कुपिण्डे नगरपालिकाले ३० हजार वढी भेडा वाख्रालाई पिपिआर खोप लगाउने भएको छ । नगरका १२ वटै वडाका विभिन्न टोलहरुमा घुम्ती शिविर आयोजना गरि भेडा, वाख्रा, खसी र वोकाहरुलाई पिपिआर खोपसँगै औषधी उपचार गर्ने भएको हो ।
बनगाड कुपिण्डे नगरपालिकाको आर्थिक सहयोग र पशु शाखा कार्यालय देवस्थलको आयोजनामा किसानका घरघरमै पुगेर बाख्राहरुको औषधी उपचार गर्ने योजना रहेको नगर प्रमुख गोविन्द कुमार पुनले जानकारी दिनु भएको छ । उहाँका अनुसार किसानले पालेका पशुचौपायहरुमा कुनै रोग तथा स्वास्थ्य समस्या उत्पन्न नहोस भनेर नगरको आर्थिक सहयोगमा नगरको १ नम्बर वडा वाग्चौर टोलबाट भेडा वख्रालाई पिपिआर खोप दिन थालिएको छ ।
पहिलो दिन वाग्चौर, वेलखोला र खरेखोला गरी १ हजार वढि भेडावाख्राहरुको औषधी उपचार तथा पिपिआर खोप दिइएको पशु शाखाले जनाएको छ । किसानको आयआर्जनको मुख्य स्रोत पशुपालन भएकोले पहिलो प्राथामिकता वर्षेनी भेडा वाख्राहरुको घरघरमै पुगेर चेकजाँच र औषधी उपचार गर्ने गरिएको नगरपालिकाले जनाएको छ ।