आज फागु पूर्णिमा अर्थात होली : जमघट भएर होली नखेल्न जिल्ला प्रशासनको सुझाव

सल्यान २६, फागुन ।
आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । तर कोरोनाको जोखिम बढेकाले यसपालि अघिल्ला वर्षहरु जस्तो होलीको रौनक छैन ।

विश्वका विभिन्न देशमा फैलिएको कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै होलीमा बिशेष सावधानी अपनाउन तथा भीडभाड गर्न र भीडभाडमा नजान जिल्ला प्रशासन कार्यालय सल्यानले रोक लगाएको छ । छिमेकी देश चीनबाट फैलिएको कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको भन्दै प्रशासनले होली, जात्रा, मेला तथा महोत्सव गर्न रोक लगाएको हो ।


जिल्ला प्रशासन कार्यालय सल्यानले कोरोनाको संक्रमणबाट जोगिन भीडभाडमा नजान, भेला सम्मेलन जस्ता कार्यक्रम नगर्न तथा आवश्यक सजकता अपनाउन आग्रह गरेको छ । भाइरसबाट जोगिन होली लगायतका पर्व, जात्रा, मेला, महोत्सव, भेला सम्मेलनको आयोजना नगर्न नगराउनु हुन साथै यस्ता कार्यक्रममा सहभागि नुहन सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले आग्रह गर्नुभएको छ ।

यसैबिच होली पर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय सल्यानले बिशेष तयारी थालेको छ । हिजोअस्तीको भन्दा होली पर्वलाई लक्षित गरेर आज सबै प्रहरी यूनिटहरुबाट प्रहरी परिचालन गरेको जनाएको छ । होलीको समयमा हुन सक्ने भिडभाड तथा अन्य घटनाहरुलाई कम गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित