दुर्गा बिसी,
सल्यान २६, फागुन ।
सल्यानको पश्चिमी क्षेत्रमा सञ्चालन भैरहेका सामुदायिक बिद्यालयहरुले कक्षा घटाउने तयारी गरेका छन् । शिक्षक दरबन्दी नहुनु तथा आर्थिक अभावका कारण सामुदायिक बिद्यालयहरुले अहिले सञ्चालन भैरहेका कक्षा घटाउने तयारी गरेका हुन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका भित्रका कक्षा ८ सम्म सञ्चालन भएका बिद्यालयमा बढी समस्या भएको हो ।
कुनै समय हौशियर निमावि कक्षा ८ चलाएका केहि विद्यालयहरु हाल सम्म अभिभावक शुल्कबाट सञ्चालन भैरहेका छन् । आर्थिक अभावका कारण विद्यालय सञ्चालन गर्न कठिन भएकोेले भैरवी निम्न माद्यामिक विद्यालयका प्रधानाध्यापक खिमलाल विकले पुनः कक्षा ५ मा झार्ने प्रस्ताव अभिभावक भेलामा पेस गर्नुभयो ।
यहाँका केही निजि शिक्षकहरुले तलव नपाउदाँ पठनपाठन गर्न छाडेका छन् । यस बिद्यालयबाट करिब रु.७ लाख ७० हजार नीजी स्रोतका शिक्षकलाई तलव दिन बाँकी रहेको विद्यालयले जनाएको छ । अहिले यहाँका अधिकांश निमावि शुन्य दरवन्दीको भरमा सञ्चालन भैरहेका छन् ।
स्थानीय सरकार गठन सँगै केहि आसा राखेका यस्ता विद्यालयहरु स्थानीय निकायबाट शिक्षकको जोह हुने सम्भावना नदेखे पछि वन्द गर्ने शुरसारमा छन् । बिद्यालयको आर्थिक अबस्था कमजोर छ, आम्दानीको स्रोत छैन्, बिद्यार्थीहरुबाट शुल्क उठाउन मिल्दैन, अहिले सम्म अभिभावकहरुको भरमा सञ्चालन भैरहेको छ प्रधानाध्यापक बिकले भन्नुभयो अब कक्षा घटाउनुको बिकल्प छैन् ।
कक्षा ८ सञ्चालन गरेका अधिंकास विद्यालयहरु आउँदो शैक्षिक सत्रमा निमावि तह वन्द गर्ने र प्रावि तहमा लैजाने योजनामा छन् । यी बिद्यालयहरुमा शिक्षक अभावमा पठनपाठन समेत प्रभावित भएको छ । निजी स्रोतका शिक्षकलाई आर्थिक अभावमा तलव खुवाउन नसकिदा उनीहरुले पढाउन छाडेको र वालवालिकाको पढाई चौपट भएको अभिभावकहरुको भनाई छ ।
बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ६ मा रहेको राधा निमावि प्राविमा झरीसकेको छ भने भैरवी निमावि, भेरी निमावि गरा, सरस्वती निमावि लाँखर लगाएतका कक्षा ८ चलेका विद्यालय प्राविमा झार्ने निश्चित भईसकेको छ । शुन्य शिक्षक दरवन्दी र निजी स्रोतका शिक्षकलाई तलव खुवाउन नसक्दा विद्यालय चलाउन कठिनाई भएको उनीहरुको निष्कर्ष रहेको छ ।
पहिले भन्दा अहिले विद्यालयमा आउने अनुदान कटौती भएको, स्थानीय तहबाट शिक्षा क्षेत्रलाई हेर्ने दृष्टिकोणमा फरक भएकोले शिक्षा क्षेत्रमा उल्लेख्य मात्रामा परिवर्तन हुन नसकेको बिद्यालयहरु बताउँछन् । शिक्षक अभावका कारण विद्यालय वन्द हुने अवस्था आए पछि वालवालिका घण्टौँ हिडेर बिद्यालय जानुपर्ने बाध्यता हुने भन्दै अभिभावक चिन्तित बनेका छन् ।
यता नगरपालिकाले भने शिक्षा क्षेत्रको सुधारको लागी नगरपालिकाले काम गरिरहेको जनाएको छ । बिद्यालयमा बिद्यार्थी टिकाउन र शिक्षालाई गुणस्तरीय बनाउने योजना रहेको नगरपालिकाले जनाएको छ ।