कर्णालीको सभ्यता बचाउन सबै पक्ष जिम्मेवार बन्नुपर्छ : मन्त्री ज्वाला

सल्यान ४, चैत ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णालीको दूर्लभ सभ्यतालाई संरक्षण गर्नका लागि प्रदेश सरकारले कर्णाली प्रज्ञा प्रतिष्ठान गठन गर्ने तयारी गरिरहेको बताएका छन् । रूपान्तरण नेपालले प्रदेश राजधानी सुर्खेतमा आयोजना गरेको ‘कर्णाली सभ्यतामाथिको बहस तथा सम्मान’ कार्यक्रममा मन्त्री ज्वालाले कर्णालीको सभ्यता बचाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा युमी नेपाल, जापानका संस्थापक शरद राई र नेपाल सरकारका उप–सचिव गगनबहादुर विश्वकर्मालाई कर्णाली प्रदेशका १५ हजार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरी प्रदेशको सार्वजनिक शिक्षालाई प्रोत्साहन गर्न पु¥याएको योगदानको मूल्याङ्कन गर्दै सम्मान गरिएको छ । साथै नेपाली भाषा, साहित्य, संस्कृतिमा पुर्याएको योगदानको मूल्याङ्कन गरी डा.मधुसूदन गिरीलाई सम्मान तथा नव नियुक्त मध्यपश्चिम विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा.नन्दबहादुर सिंहलाई बधाई ज्ञापन गरिएको छ । प्रमुख अतिथि प्रकाश ज्वालाले ताम्रपत्र र रूपान्तरण नेपालका अध्यक्ष मोहन शाहीले दोसल्ला ओडाएर सम्मान गर्नु भएको हो ।


कार्यक्रमको दोस्रो चरणमा कर्णालीको भाषा र संस्कृतीबारे अवधारणा पत्र प्रस्तुत गर्दै भाषा तथा संस्कृतिविद् डा. मधुसुधन गिरीले कर्णाली सभ्यताको महानदी भएको बताउनुभयो । डा. गिरीले थुप्रै जात, जाती र भाषा संस्कृतिको उत्पत्ति भएको कर्णाली नेपाली भाषाको समेत उद्गम स्थल भएकाले यहाँको सभ्यताको प्रचार–प्रसार गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले ‘कर्णालीको ऐतिहासिक सिल्क रोड’ को बारेमा आफ्नो भनाइ राख्दै कर्णाली सभ्यताको बलियो इतिहास हो भन्ने प्रमाण अहिले पनि अस्तित्वमा रहेका मठ मन्दिर, नेपाली भाषाका पुराना शिला लेखहरूमा भेटिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस