बुद्धि पुन,
सल्यान ७, चैत्र ।
बिश्व भर फैलदैँ गएको कोरोना भाईरसको जोखिमलाई मध्यनगर गर्दै सल्यानको एक स्वास्थ्य संस्थाले सेवा लिनुपूर्व सेवाग्राहीले अनिवार्य रुपमा सावुनपानीले हात धुनुपर्ने नियम बनाएको छ । जिल्लाको छत्रेश्वरी गाउपालिका वडा नम्वर ५ मा रहेको प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखराले यस्तो नियम बनाएको हो ।
बिगत केही दिन देखी प्राथामिक स्वास्थ्य केन्द्रमा सेवा लिन आउने सेवाग्राहीले नियमित रुपमा सावुनपानीले हात धुनुपर्दछ । सेवाग्राही सेवा लिन आउदा र सेवा लिएर फर्कदा सावुन पानीले हात अनिवार्य धुने ब्यबस्था गरिएको प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखराका निमित्त प्रमुख वीर बहादुर वलीले जानकारी दिनुभयो ।
‘कोरोना भाइरसको सन्त्रास अहिले बिश्वभरमा छ, नेपाल पनि कोरोना भाइरसको जोखिममा छ, यस्तो अबस्थामा आम नागरिकलाई सचेत बनाउन यो कार्य थालनी गरिएको हो’ उहाँले भन्नुभयो । उहाँले सेवा लिन आउने सबै सेवाग्राहीलाई कोरोना भाइरसको लक्षण, बच्ने उपायका बारेमा समेत सचेत बनाउदैँ आएको बताउनुभयो ।
‘कोरोना भाइरसका लक्षण, बच्ने उपायका बारेमा सचेतनामुलक ब्यानर स्वास्थ्य केन्द्रको प्रवेशद्धारमा राखेका छौँ, यस्तै हामीले कोरोना भाइरसका बारेमा सेवाग्राहीलाई जानकारी दिएर मात्रै सेवा प्रदान गर्छौ’ उहाँले भन्नुभयो ‘कोरोना भाइरसबाट बच्नको लागी यो पूर्व तयारी हो ।’ स्वास्थ्य केन्द्रमा सेवा लिनु पूर्व र सेवा लिए पश्चात सावुन पानीले हात धुने कामको थालनी गरिएको बताउदैँ उहाँले भन्नुभयो ‘घरमा पनि नियमित सावुनपानीले हात धुने, भिडभाडमा नजाने, राम्ररी पकाएर मात्रै खानेकुरा खाने भनेर सचेतिकरण गर्दै आएका छौँ ।’
सेवाग्राही सपना वलीले कोरोना भाइरसको संक्रमण बाट बच्नको लागी स्वास्थ्य केन्द्रले राम्रो कामको शुरुवात गरेको बताउदैँ स्वास्थ्यकर्मीले सिकाएका कुरा ब्यबहारमा लागुगर्ने र घरपरिवारमा पनि सिकाउने बताउनुभयो । स्वास्थ्य केन्द्रमा रहेको ट्यांकी, सावुन आदीको ब्यबस्थापन गरेर हात धुने ब्यबस्था मिलाईएको प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखराले जनाएको छ ।