सल्यान १०, चैत ।
आज देखी सल्यान जिल्लाबाट बाहिरिने र भित्रिने सबै यात्रुबाहक सवारीसाधन सञ्चालनमा रोक लगाईएको छ । कोरोना भाइरसको सन्त्रास फैलिदैँ गएको बेला साबधानी स्वरुप जिल्लामा भित्रिने र बाहिरिने लामो तथा छोटो दुरीका कुनै पनि यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाईएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
भारत सहित बिभिन्न शहरहरुबाट मानिसहरु सल्यान भएर आवतजावत गर्ने र जिल्ला नै उच्च जोखिममा रहेकाले यात्रुबाहक सवारीसाधन सञ्चालनमा रोक लगाईएको निमित्त प्रहरी प्रमुख लक्ष्मण ओलीले जानकारी दिनुभयो । यस बाहेक एम्बुलेन्स, दमकल, डेरी, तरकारी बोकेका गाडीहरु भने सञ्चालन हुने उहाँले बताउनुभयो । यदी कसैले यात्रुबाहक सवारी चलाएको पाईएमा कडा कारबाही गर्नुका साथै सवारी नियन्त्रणमा लिईने प्रहरीले जनाएको छ ।
यस्तै जिल्ला भित्रमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधनमा पनि कडाई गरिएको छ । सिट क्षमता भन्दा बढी यात्रु नराख्न, भिडभाड तथा हुलहुज्जत नगर्न, अतिआबश्यक बाहेक अन्य काममा घर बाहिर ननिस्कन जिल्लाबासीलाई प्रहरीले आग्रह गरेको छ । यस्तै निजि सवारी साधनलाई भाडामा लिई यात्रुलाई ओसार्ने काम गरेको पाईएमा पनि सवारी नियन्त्रणमा लिई एम्बुलेन्सको रूपमा प्रयोग गरिने प्रहरीले जनाएको छ ।
यसैबिच सल्यान भित्रिने पैदल तथा सवारीसाधनमा आउने करिब सोह्र हजार यात्रुको कपुरकोट नाकामा स्वास्थ्य जाँच गरिएको छ । जसमा कुनैमा पनि कोरोनाको संक्रमण भेटिएको छैन् ।