चैत ११ ।
सरकारको हिजोको निर्णय अनुसार आजदेखि पूरै देश लकडाउन भएको छ । कोरोना नियन्त्रण उच्चस्तरीय समितिको हिजोको बैठकले आज बिहान ६ बजेदेखि देशैभरिका नागरिकलाई घरबाहिर निस्कन नदिने र विशेष पास भएका बाहेक अरु कुनै पनि गाडी र जहाज चल्न नदिने निर्णय अनुसार बिहानैदेखि लकडाउन सुरु भएको हो ।
सरकारले कुनै पनि बहानामा घरबाहिर ननिस्कन र गाडी नचलाउन निर्देशन दिएको छ । सरकारको निर्देशन अनुसार केहीबेरमा देशैभरि प्रहरी पनि परिचालनको तयारी गरिएको गृह मन्त्रालयले जनाएको छ । सुरक्षा निकाय र एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेहरुको लागि विशेष पास लिएका गाडी भने चल्न पाउनेछन् । यस्तै अत्यावश्यक सेवा बाहेक कर्मचारीलाई पनि घरमै बस्न भनिएको छ ।
साथै देशभरका नेपालीहरुलाई चैत ११ गतेदेखि चैत १८ गतेसम्म बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म घरबाट बाहिर निस्कन रोक लगाइएको छ । काठमाडौंमा एक जनामा कोरोना संक्रमण पुष्टि भएलगत्तै सरकारले देशलाई लकडाउने गर्ने निर्णय गरेको हो । लकडाउन उल्लंघन गरेमा ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुन्छ ।