सल्यान ११, चैत ।
बिश्वभर कोरोना भाइरस फैलदैँ गएको बेला सल्यानको दार्मा गाउपालिकाका एक ब्यक्तिलाई बिशेष निगरानीमा राखिएको छ । कतार एयरवेजबाट नेपाल आएका यात्रुहरु मध्ये एक जना यात्रु सल्यान दार्मा गाउँपालिका वडा नम्बर १ गोडबांगका २५ बर्षिय एक ब्यक्तिलाई बिशेष निगरानीमा राखिएको हो । उनी गत चैत ४ गते नेपाल आएका थिए ।
अहिले उनलाई बिशेष निगरानीमा राखिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बिशेष निगरानी सहित स्थानिय स्वास्थ्यकर्मीको टोली चन्दको घरमा पठाईएको छ । उनको घरमा नै प्राथामिक उपचार हुने छ भने केही लक्षण वा स्वास्थ्य समस्या देखिएमा जिल्ला अस्पताल सल्यानमा रिफर गर्न निर्देशन दिईएको उहाँले बताउनुभयो ।
चन्दसँगै काठमाडौंबाट सोही ठाँउका अर्का एक जना पनि दार्मामा आएको गाउपालिका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनुभयो । उनीहरु काठमाडौंबाट रुकुम झुल्नेटा–नुवाकोट हुंदै सार्वजनिक गाडीमा घर पुगेको हुन् । स्वास्थ्य परिक्षण विना नै उनीहरु गएराती (सोमवार राती) १० बजे घर पुगेका हुन् । अहिले सो क्षेत्रमा सबैजनालाई भेटघाट नगर्न, बाहिर ननिस्कन र गाउँमा आवतजावत नगर्न बिशेष अनुरोध गरिएको छ ।
सरकारले कतारबाट चैत ४ गते काठमाडौं आएको जहाजमा सवार यात्रुहरु मध्ये १९ वर्षीय एक युवतीलाई संक्रमण देखिएपछि सो जहाजमा यात्रा गर्ने यात्रुहरुलाई २४ घण्टा भित्र खोजी गर्न विभन्न सूचनाहरु जारी गरेको छ । सो दिन ३ वटा फ्लाईट भएका थिए । चैत ४ गते विहान २ सय ५ जना, सांझ १ सय ६ जना र राती १ सय ५३ जना यात्रुहरु काठमाडौं आएका थिए । तर उनी कुन फ्लाईट मार्फत नेपाल ओर्लिएका हुन् भन्ने खुलेको छैन् ।