तपाई लकडाउन भएपछि बाटोमा अलपत्र पर्नुभएको छ ? कर्णाली प्रदेशभित्रका नागरिकले १११० मा फोन गर्नुहोस ।

सल्यान १२, चैत ।
कोरोना भाइरस (कोभिड(१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि बाटोमा अलपत्र यात्रुको उद्धारका गर्न कर्णाली प्रदेश सरकारले निःशुल्क हटलाइन सेवा सुरु गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा मंगलबार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले यस्तो निर्णय गरेको हो ।


कार्यकारी समितिका संयोजक तथा सामाजिक विकासमन्त्री दल रावलको अध्यक्षतामा सम्पन्न बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयमा हटलाइन कक्ष रहने गरी १११० नम्बरको हटलाइन सेवा सुरु गर्ने निर्णय गरेको छ । घर फर्कन यात्रा सुरु गरी लकडाउनका कारण बाटोमै अलपत्र रहेका कर्णाली प्रदेशभित्रका नागरिकहरुले यो सेवाको उपयोग गरी सरकारलाई आफ्नो अवस्थाको जानकारी दिन सक्ने सामाजिक विकासमन्त्री रावलले जानकारी दिए ।

मन्त्री रावलका अनुसार हटलाइनमा प्राप्त सूचनाका आधारमा सरकारले यातायातको प्रबन्ध गरी अलपत्र यात्रुको उद्धार गर्ने, उनीहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण गर्ने तथा स्वास्थ्य अवस्थाका आधारमा क्वारेन्टाइनमा राख्नु पर्नेलाई क्वारेन्टाइनमा राख्ने र बाँकीलाई गन्तव्यसम्म पुराउने व्यवस्था गर्नेछ । रोजगारीका लागि भारत गएका कर्णाली प्रदेशका अधिकांश नागरिक फर्कने क्रममा बीच बाटोमा अलपत्र परेको गुणासो प्राप्त भएपछि प्रदेश सरकारले यस्तो निर्णय लिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस