चैत १३, सुर्खेत ।
कर्णाली प्रदेशमा रहेका तीन अस्पताललाई आइसोलेशन तोकिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बिहीबार सम्पन्न बैठकले रुकुमपश्चिम, सुर्खेत र जुम्लाका अस्पताललाई आइसोलेशन तोक्ने निर्णय गरेको हो ।
तीन अस्पताललाई आसोलेसन तोक्न बैठकले दुई करोड ५० लाख बजेट सहयोग गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिुनभयो ।
सुर्खेतको प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई एकरएक करोड तथा रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पताललाई ५० लाख सहयोग दिने निर्णय भएको प्रवक्ता केसीको भनाई छ । मन्त्रीपरिषद्को बैठकले तीन अस्पतालको संयोजन तथा परिचालन समिति समेत गठन गरेको छ ।
प्रदेश अस्पतालको संयोजन समितिमा सामाजिक विकास मन्त्री दल रावल, कर्णाली स्वास्थ्य प्रतिष्ठानको संयोजनमा समितिमा आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी र रुकुम पश्चिमको चौरजहारी अस्पतालको संयोजन समितिमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी छन् ।
संयोजन समितिको सदस्यहरुमा जिल्ला समन्वय समिति, नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य आपूर्ति व्यवस्थापन समितिका निर्देशक लगायत छन् ।
यस्तै बैठकले प्रदेश व्यवस्थापन कोषमा मुख्यमन्त्रीसहितका मन्त्रीहरुले एक महिनाको पारिश्रमित जम्मा गर्ने र जनप्रतिनीधि, राष्ट्रसेवक, उद्योगी, व्यवसायी एवम् अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाहरुलाई सहयोगका लागि अपिल गर्ने निर्णय गरिएको छ ।
कोरोना भाइरस (कोभीड–१९) को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्रीहरु आपूर्तिका गर्न नेपाल सरकार समक्ष माग गर्ने र केन्द्रबाट उपलव्ध हुन नसक्ने भएमा प्रदेशले खरिद तथा आपूर्ति गर्ने निर्णय गरिएको प्रवक्ता केसीको भनाई छ ।