कर्णालीका सबै जिल्लामा अत्याबश्यक औषधि र उपकरण पठाएका छौँ : मन्त्री ज्वाला

बुद्धि पुन,
सल्यान १६, चैत्र ।
कर्णाली प्रदेश सरकारले प्रदेशका दश वटै जिल्लाहरुमा अत्याबश्यक औषधि र उपकरणहरु पठाउन थालेको छ । कोरोना भाइरस बिश्वभर फैँलदै गएको बेला यसको रोकथाम तथा संक्रमित बिरामीको उपचारको लागी आबश्यक पर्ने उपकरण तथा औषधि प्रदेशका सबै जिल्लाहरुमा पठाउन प्रदेश सरकारले शुरु गरेको हो ।

अहिले अत्याबश्यक औषधि र उपकरणहरु प्रदेशका दश वटै जिल्लाहरुमा पठाउन शुरु गरिएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो । ‘प्रदेश सरकार सँग भएको अत्याबश्यक उपकरण तथा औषधिहरु जिल्ला जिल्लामा पठाउन शुरु गरेका छौँ’ उहाँले भन्नुभयो ‘तत्कालका लागी जिल्लामा रहेका जिल्ला अस्पताललाई राहत मिल्ने छ ।’
उहाँले कर्णालीका कुनै पनि जिल्लामा औषधि तथा उपकरणहरुको अभाव हुन नदिने बताउनुभयो । ‘पहिलो चरणमा अत्याबश्यक औषधी र उपकरण पठाएका छौँ, केन्द्र सरकार र बिभिन्न निकायहरु सँग पनि अत्याबश्यक औषधि र उपकरणको बिषयमा छलफल भैरहेको छ’ उहाँले भन्नुभयो ‘सबै जिल्ला तथा स्थानिय तह सम्म पुग्ने गरी औषधि र उपकरण पठाउने प्रदेश सरकारको योजना छ ।’


अब छिट्टै सरकारले आबश्यक औषधि र उपकरणको ब्यबस्था गर्ने उहाँको भनाई छ । सोही क्रममा प्रदेश सरकारले आईतवार आज जिल्ला अस्पताल सल्यानमा अत्याबश्यक औषधि र उपकरण उपलब्ध गराएको छ । जस अनुसार ब्यक्तिगत सुरक्षा उपकरण (पिपिई) ५ थान, गाउन २० थान, माक्स ३ हजार ५ सय पिस, सेनिटाईजर २ वोतल लगाएतका अन्य औषधिहरु रहेका छन् । कोरोना संक्रमितको उपचारमा मात्र नभएर शंकास्पदको उपचार गर्ने चिकित्सकले पीपीई लगाउनु पर्छ । यस्तै प्रदेश सरकारले केही स्वास्थ्यकर्मी समेत पठाएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अजुर्न कुमार बढाले कोरोना भाइरस बिरुद्ध लड्नको लागी कार्यालयले आबश्यक तयारी गरेको बताउनुभयो । १५ बेडको क्वारेन्टाइन तथा ६ बेडको आइसोलेसन वार्ड तयार पारिएको उहाँको भनाई छ । यस्तै कोरोना संक्रमित तथा शंकास्पद बिरामीहरुको जाँच गर्दा आबश्यक पर्ने पिपिई सहितका केही उपकरणहरु प्रदेश सरकारले उपलब्ध गराएकाले चेकजाँच तथा उपचारमा सहजता आउने उहाँको बिश्वास छ ।

प्रतिक्रिया दिनुहोस