सल्यानका स्थानिय तहद्धारा बिपन्न परिवारलाई खाद्यान्न बितरण

सल्यान २१, चैत ।
सल्यानका स्थानिय तहहरुले बिपन्न वर्गलाई खाद्यान्न बितरण गरेका छन् । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण उत्पन्न प्रतिकुल अवस्थाबाट प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत प्रदान गर्ने कार्य शुरु भएको हो । जिल्लाको कपुरकोट गाउँपालिकाको वडा नम्बर २ मा १६ घरपरिवारलाई चामल, नुन, तेल लगाएतका सामग्री वितरण गरिएको अध्यक्ष भिम बहादुर सेनले जानकारी दिनुभयो । दैनिक रुपमा कामकाज गरेर दैनीक आम्दानी गर्ने तथा अपांगता, जेष्ठ नागरिक र असहाय वर्गका घरपरिवारलाई राहत वितरण कार्य शुरु भएको उहाँको भनाई छ ।


कपुरकोट २ गर्पा स्थित वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रति परिवार २५ किलो चामल, एक एक किलो दाल, नुन, एक लिटर तेल र एक पिस साबुन वितरण गरिएको हो । गत चैत्र १६ गते नै बैठक बसेर सम्बन्धीत वडा कार्यालय मार्फत विपन्न वर्गको पहिचान गरेर विवरण संकलनको काम शुरु गरिएको जनाउदै अध्यक्ष सेनले जस अनुसार विहिबार वडा नम्बर २ का १६ घरपरिवारलाई राहत उपलब्ध गराइएको र वडा नम्बर ३ र ४ मा शुक्रबार राहात वितरण गरिने जानकारी दिनुभयो । उहाँले गाउँपालिकाको विपद् ब्यवस्थापन कोषमा १० लाख ८२ हजार रुपैयाँ रहेको र यसबाटै राहत वितरण तथा कोरोना रोकथामका क्रियाकलापहरु संचालन गरिने जानकारी दिनुभयो ।

यस्तै शारदा नगरपालिकाले पनि दैनिक मजदुरी गर्ने विपन्न वर्गहरुलाई खाद्यान वितरण गरेको छ । निम्न आर्थिक अवस्था भएका परिवारहरुको पहिचान गरी खाद्यन वितरण गरेको हो । लकडाउनको समयभित्र अत्यावश्यक दैनिक सामग्री जोहो गर्न नसक्ने, ज्याला मजदुरी गरि परिवार चलाइ रहेका निम्न आर्थिक अवस्था भएका परिवारहरुको पहिचान गरि खाद्यान्न वितरण गरेकोे नगरप्रमुख शुरेस अधिकारीले जानकारी दिनुभयो ।


नगरका अनुसार खाद्यान्नमा दाल, चामल, नुन, तेल र सरसफाईको लागी साबुन वितरण गरिएको छ । नगरले ४ नम्वर वडामा २० जना, वडा नम्वर १ मा १९ जना र २ मा ७१ जनालाई खाद्यान्न वितरण गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस