बागचौर नगरपालिकामा कोरोना रोकथामका लागी २ करोडको राहत कोष स्थापना

सल्यान २३, चैत ।
सल्यानको बागचौर नगरपालिका नगरप्रमुख लोकमान बुढाथोकीले आफुले प्राप्त गरेको सेवा सुबिधा बापतको रकम कोरोना रोकथाम कोषमा जम्मा गर्नुभएको छ । बागचौर नगरपालिकाले कोरोना भाइरसको रोकथाम, अलपत्र परेका नगरबासीको उद्धार तथा विपन्न बर्गलाई राहत दिने उद्देश्यले स्थापना गरेको कोरोना भाइरस रोकथाम, उद्धार तथा राहत कोषमा नगरप्रमुख बुढाथोकीले गतवर्षको सेवासुविधाको रकम रु. ४ लाख ५० हजार जम्मा गर्नुभएको हो ।


नगर प्रमुख बुढाथोकीले यस अघि नै आफुले ५ बर्षे कार्यकालमा पाउने सेवा सुबिधाको रकम ब्यक्तिगत रुपमा नलिएर सामाजिक कार्यमा खर्च गर्ने घोषणा गर्नुभएको थियो । नगरपालिकाले २ करोडको कोष स्थापना गरेको छ । जसमा नगर उपप्रमुखबाट सेवासुविधाबाट पाएको १ महिनाको रकम रु. ३० हजार, वडा अध्यक्षहरूबाट सेवासुविधाबाट पाएको १ महिनाको रकम रु. २० हजार, कार्यपालिका सदस्यहरूबाट सेवासुविधाबाट पाएको १ महिनाको रकम रु. ११ हजार, वडासदस्यहरूबाट सेवासुविधाबाट पाएको १ महिनाको रकम रु. ६ हजार तथा स्वास्थ्यका कर्मचारी र सवारी चालक बाहेक अन्य सम्पूर्ण शिक्षक र कर्मचारीबाट १ महिनाको तलब जम्मा गर्ने कार्यपालिका बैठकले निर्णय गरिएको छ ।

यस्तै प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा ५ बेडको आइसोलेसन निर्माण गर्ने, जनकल्याण क्याम्पसमा २५ बेडको क्वारेन्टाइन निर्माण गर्ने, साथै आवश्यकता अनुसार नगर भित्रका साबिकका गाविसहरू पिपलनेटा, कोटमौला, कोटबारा, बाफुखोला, शिवरथमा क्वारेन्टाइन बनाउँदै जाने निर्णय कार्यपालिका बैठकले गरेको छ । यस्तै नगर भित्रका स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशत प्रोत्साहन भत्ता सहित पीपीई लगाएतका उपकरण तथा औषधि बितरण गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस