सल्यान २६, चैत ।
सल्यानमा सञ्चालित मासु पसलहरु बन्द गरिएको छ । मानिसलाई दैनिक रुपमा चाहिने अतिआबश्यक भित्र नपर्ने भएकाले जिल्लामा सञ्चालित मासु पसलहरु बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले मानिसको दैनिक आबश्यकता सँग नजोडिएकाले मासु पसल पूर्ण रुपमा बन्द गरिएको जानकारी दिनुभयो ।
तर जिल्लामा कुखुराको दाना लगाएतका आयात गर्न भने पासको ब्यबस्था गरिएको उहाँको भनाई छ । ‘मासु मानिसको दैनिक आबश्यकता सँग जोडिएको छैन्, खाद्यान्न तथा तरकारी पसल सञ्चालनको लागी ब्यबस्था गरेका छौँ’ उहाँले भन्नुभयो ‘अहिलेको अबस्थामा मान्छेको भिडभाड हुने गरी कुनै कार्य गर्न पाईदैन्, मासु पनि अतिआबश्यक भित्र नपर्ने भएकाले पसल बन्द गरिएको हो ।’
उहाँले देशमा लकडाउन नहटे सम्मको लागी मासु पसल बन्द गरिएको बताउनुभयो । सरकारले घोषणा गरेको लकडाउनलाई उलंघन गर्ने खालका कुनै कार्य गरेको पाईएमा जरिवाना र कैँद दुवै हुने ब्यबस्था गरिएको छ । तर जिल्लाका मासु पसल ब्यबसायीहरुले भने मासु ब्यबसाय सञ्चालन गर्न पाउनुपर्ने बताएका छन् । उनीहरुले आफुले उत्पादन गरेको पशुजन्य बस्तुको ब्यबस्थापन स्थानिय तहले गरिदिनुपर्ने बताएका छन् ।