सल्यान २८, चैत ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागी नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सल्यानले पनि सक्रियता देखाएको छ । बिपद्को समयमा उद्धार तथा राहतका कार्यक्रम सञ्चालनमा अग्रनी रेडक्रस अहिले कोरोना भाइरसको रोकथाको लागी बिभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै सक्रिय बनेको हो । रेडक्रसले जिल्लामा कोरोना भाइरसको संक्रमण हुन बाट बचाउनको लागी आफ्नो तर्फबाट बिभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको जनाएको छ ।
रेडक्रसको सहयोगमा अहिले जिल्लाका बिभिन्न स्थानिय तहहरुमा क्वारेन्टाइन तयार गरिएको छ । जिल्लाको बागचौर नगरपालिका, बन्गाड कुपिण्डे नगरपालिका, दार्मा गाउपालिका, कालीमाटी गाउपालिका लगाएतलाई रेडक्रसको उपशाखा मार्फत त्रिपाल, कम्मल, बाल्टिन लगाएतका सामाग्रीहरु क्वारेन्टाइन निर्माणको लागी सहयोग गरिएको जिल्ला सभापती यौवन प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला अस्पताल सल्यानमा क्वारेन्टाइन निर्माणको लागी ३ वटा टेण्ट उपलब्ध गराईएको छ भने कपुरकोट हेल्थ डेस्कमा पनि टेण्ट उपलब्ध गराईएको छ । यसैबिच आज जिल्ला बिपद् ब्यबस्थापन समितीलाई मृतक शरिर ब्यबस्थापन झोला हस्तान्तरण गरिएको छ । जिल्ला बिपद् ब्यबस्थापन समितीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई १२ थान मृतक शरिर ब्यबस्थापन झोला हस्तान्तरण गरिएको हो ।
जिल्ला सभापती श्रेष्ठ, मन्त्री किशोर कुमार हमाल लगाएतको उपस्थितीमा सामान हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानले जनाएको छ ।