नयाँ वर्ष २०७७ सुरु, घरमै बसेर उत्सव मनाउन आग्रह

सल्यान १, बैशाख ।
आज (सोमबार) वैशाख १ गते अर्थात् नेपाली नयाँ वर्ष २०७७ को पहिलो दिन । नयाँ वर्षको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले शुभकामना दिनुभएको छ । कोरोनाको महामारीलाई जित्न दृढ सङ्कल्पका साथ सकारात्मक सोच राख्न उहाँहरुको आग्रह छ ।

यस्तै लकडाउनलाई पूर्ण पालना गर्दै क्वरेण्टीनमा बस्न पनि आग्रह गरिएको छ । मानव जातिले आदिमकालदेखि नै प्राकृतिक र मावन सिर्जित विभिन्न विपद्सँग लड्दै र त्यसमाथि विजय हासिल गर्दै आएको र यस पटक पनि कोरोना र सम्भावित अन्य महामारीलाई परास्त गर्ने दृढ सङ्कल्प, त्यही अनुसारको व्यवहार र आवश्यक क्रियाशीलतासहित आपसमा शुुभकामना आदान प्रदान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गर्नुभएको छ ।


तर नयाँ वर्ष बनाउने बहानामा एक अर्काको नजिक हुने, भिडभाड गर्ने जस्ता काम नगर्न सरकारले आग्रह गरेको छ । कोरोना भाइरसको प्रकोपका कारण यस वर्षको नयाँ वर्ष केही खल्लो हुने भएको छ । गएका वर्षहरुमा एक अर्कालाई उपहार दिएर, मिठो खानेकुरा खाएर, घुम्न गएर नयाँ वर्ष मनाउने गरिए पनि कोरोनाका कारण यस वर्ष घरमै बसेर धेरैले नयाँ वर्ष मनाउँदै छन् ।

प्रतिक्रिया दिनुहोस