सल्यान २, बैशाख ।
सल्यानमा नक्कली बिरामी बोक्ने एम्बुलेन्स सहित ४ जना पक्राउ परेका छन् । सरकारले कोरोना भाईरसको संक्रमण हुन नदिन र उच्च स्वास्थ्य सतर्कता अपनाउन गरेको लकडाउनमा झुठो कागजपत्र र नक्कली बिरामी बनाई एम्बुलेन्स दुरुपयोग भएको खबर पाएपछि चेकजाँचका क्रममा एम्बुलेन्स सहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
कार्यालयका अुनसार गत चैत ३० गते राती १० बजे रुकुमबाट दाङ तर्फ जाँदै गरेको मानव परोपकार तथा समाज कल्याण केन्द्र दाङको रा १ च ५१२ नम्बरको एम्बुलेन्स सहित ४ जना पक्राउ परेका हुन् । झुठो कागजपत्र र नक्कली बिरामी बनाई यात्रुलाई ओसारपसार गरेको गोप्य सूचनाका आधारमा बागचौर नगरपालिकाको सिमखोलीमा रहेको प्रहरी चेक प्वाइन्टबाट एम्बुलेन्स, त्यसमा सवार नक्कली बिरामी सहित ३ जना र चालकलाई पक्राउ गरिएको सल्यानका प्रहरी प्रमुख, डिएसपि ढकेन्द्र खतिवडाले आज जानकारी दिनुभएको छ ।
पक्राउ पर्नेमा दाङको लमही नगरपालिका ३ बस्ने मिनराज सुबेदी, रबिन चौधरी, दिप्तु चौधरी र एम्बुलेन्स चालक शान्तिनगर २ बाघमारेका गिरिराज खत्री रहेका छन् । एम्बुलेन्स र चालक सहित ४ जनालाई अहिले इलाका प्रहरी कार्यालय थारमारेमा राखिएको छ । उनीहरुलाई लकडाउन उल्लंघन, एम्बुलेन्स दुरुपयोग, नक्कली कागजपत्र बनाएको अभियोगमा मुद्धा चलाउने तयारी भैरहेको छ । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।