बुद्धि पुन, सल्यान ४, बैशाख ।
सल्यानमा कोरोना भाईरसको परीक्षण सुरु भएको छ । र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट सल्यानका चैत १ गते यता भारत सहित तेस्रोमुलुकबाट आएका सबैको परिक्षण शुरु गरिएको हो । यसैक्रममा आज विहिबार कपुरकोट गाउँपालिका, दार्मा गाउँपालिका र त्रिवेणी गाउँपालिकामा परीक्षण गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
तीन स्थानिय तहमा गरेर २ सय ६२ जनाको र्यापिड टेष्ट गरिएको छ । ती सबै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढाले जानकारी दिनुभयो । कपुरकोट गाउँपालिकामा ३६ जनाको कोरोना भाइरसको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) भएको छ । यस्तै दार्मा गाउपालिकामा २ सय १० जनाको आरडिटी टेष्ट गरिएको छ भने त्रिबेणी गाउपालिकामा १६ जनाको आरडिटी टेष्ट गरिएको छ । यस्तै जिल्ला अस्पताल सल्यानमा एक जनाको टेष्ट गरिएको छ । ती सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
यसैविच हालै श्रीलंकाबाट फर्किएका कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनको पनि र्यापिड डाइग्नोष्टिक टेष्ट गरिएको छ । उहाँको पनि रिपोर्ट ननरियाक्टिभ आएको छ । यस्तै भोली शुक्रबार सिद्धकुमाख, छत्रेश्वरी र कुमाख गाउँपालिकामा परीक्षण गरिने छ । यस्तै शनिबार शारदा नगरपालिका र बागचौर नगरपालिकामा तथा आईतबार वनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकामा कोरोनाको परीक्षण गरिने छ । स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. बुढाले घरमा सतर्क रहन, लकडाउनको पालना गर्न, सामाजिक दुरी कायम गर्न सबैमा आग्रह गर्नुभएको छ ।