बुद्धि पुन,
सल्यान १५, बैशाख ।
अहिले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेक अन्य सेवा उपलब्ध छैन । सरकारले पनि अत्यावश्यक बाहेक अस्पताल नजान सबैलाई आग्रह गरेको छ । त्यसैले अस्पतालहरु अहिले सुनसान जस्तै भएको छन् । तर प्रसुति सेवा लिनेहरुको संख्या भने घटेको छैन् ।
कोरोना भाइरसको कहरले बन्दाबन्दी जारी रहेको अबस्थामा पनि प्रसुती गृहमा सुत्केरी हुने महिलाहरुको संख्या उल्लेख्य छ । यस्ता प्रकृतिका महिलालाई सहजै प्रसुती गृहसम्म जाने ब्यबस्था हुदा र सुरक्षित रुपमा सुत्केरी हुने भएपछि बन्दाबन्दीमा पनि प्रसुती गृहमा सुत्केरी हुने महिलाहरुको संख्या बन्दाबन्दी अघिको जस्तै रहेको स्वास्थ्य संस्थाहरुको भनाई छ ।
स्वास्थ्य चौकी देवस्थलका इन्चार्ज भुमा वलीले स्वास्थ्य चौकीमा प्रसुती हुन आउने महिलाहरुको संख्यामा कमी नआएको बताउनुभएको छ । देबस्थल आसपासका क्षेत्रहरुको केन्द्र भएकाले पनि स्वास्थ्यचौकीमा प्रसुती हुन आउने महिलाहरुको संख्यामा कमी नआएको उहाँको भनाई छ । ‘बिशेष साबधानी अपनाएर हामीले सेवा प्रवाह गरिरहेका छौँ, प्रसुती सेवा सँगै गर्भवती महिलाहरु जाँच गर्न आउनु हुन्छ’– उहाँले भन्नुभयो ।
अन्य सेवा बाहेक प्रसुती सेवा सहितका केही सेवाहरु निरन्तर रुपमा प्रवाह गरिरहेको प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखराका इन्चार्ज बीर बहादुर वलीले बताउनुभयो । गर्भवती महिलाहरु घरमा नभएर सुत्केरी हुन स्वास्थ्य संस्थामा नै आउने गरेको उहाँको भनाई छ । उहाँले लकडाउन अघि नै जसरी गर्भवतीहरु प्रोटोकल अनुसार जाँच गर्न आउने गरेको बताउनुभयो ।
‘हामीले नियमित रुपमा सेवा प्रवाह गरिरहेका छौँ, हामी कहाँ एम्वुलेन्स सेवा पनि भएकाले गाउँ–गाउँबाट सेवा लिन आईरहनु भएको छ’ उहाँले भन्नुभयो ‘गर्भवती महिलाको नियमित जाँच भैरहेको छ, आइरन चक्की खान भन्दै आएका छौँ, आबश्यक परामर्श पनि प्रदान गरिरहेका छौँ ।’ स्वास्थ्य संस्थाको लक्ष्य अनुसार नै प्रसुती गृहमा सुत्केरी हुन आउनेहरुको संख्या रहेको उहाँको भनाई छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढाले जिल्ला अस्पतालमा अहिले पनि दैनिक रुपमा ५÷६ वटा सुत्केरी हुने गरेको बताउनुभयो । अत्याबश्यक सेवा भित्र प्रसुती सेवा पनि पर्ने र यो सेवा चौबीसै घण्टा खुला रहने भएको कारण पनि सेवा प्रवाहमा समस्या नरहेको उहाँको भनाई छ । प्रसुती गृहमा सुत्केरी भए सुरक्षित पनि हुने र सुत्केरी भत्ता नि पाईने भएपछि प्रसुती गृहमा नै आएर सुत्केरी हुने महिलाहरुको संख्यामा कमी नआएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।