रु. ३२ अर्ब सम्मको वजेट ल्याउने कर्णाली प्रदेश सरकारको तयारी

सल्यान १६, बैशाख ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी सुरु गरेको छ । प्रदेश सरकारले ३२ अर्बसम्मको बजेट ल्याउने गरी बन्दाबन्दी (लकडाउन) का बेलामा समेत मन्त्रालय तथा मातहतका निकायमा तयारी थालेको हो । नीति तथा कार्यक्रम र बजेटका साथै अत्यावश्यक प्रशासनिक कार्य सम्पादन गर्नुपर्ने भएकाले बन्दाबन्दीमा कार्यालय खोल्ने निर्णयमा प्रदेश सरकार पुगेको हो । कोभिड(१९ को सङ्क्रमणबाट सुरक्षित रहन प्रदेश सरकारले बन्दाबन्दीको एक महिना अवधिसम्म सबै कार्यालय पूरा समय बन्द गरेको थियो ।


प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । त्यसको एक साताअघि वार्षिक नीति तथा कार्यक्रम ल्याइसक्नुपर्छ । प्रदेश योजना आयोगले आगामी वर्षका लागि रु ३७ अर्बको बजेट सिलिङ प्रदेश सरकारलाई पठाइसकेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आगामी वर्ष पनि कोभिड(१९ सङ्क्रमण, रोकथाम र उपचारका लागि बजेट केन्द्रित गर्नुपर्ने बाध्यता कायमै रहने बताउनुभयो । अहिलेसम्म परिस्थिति सामान्य नभएकाले आगामी वर्षको बजेटको आकार घट्ने र प्राथमिकता पनि फेरिने उहाँको भनाइ छ । मन्त्री ज्वालाले रु ३२ अर्बसम्मको बजेट ल्याउने तयारी गरिए पनि यसको आकार अझै घट्न सक्ने बताउनुभएको छ ।

अघिल्ला वर्षका बजेटमा प्रदेश सरकारले कृषि, सडक, पर्यटन र पूर्वाधारलाई विशेष जोड दिँदै आएको थियो । चालु आव २०७६र७७ का लागि कर्णाली सरकारले रु ३४ अर्ब ३५ करोड बराबरको बजेट ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस