सल्यान २१, बैशाख ।
सल्यानका दश वटै स्थानीय तहले दैनिक ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गर्ने ५ हजार बढी विपन्न परिवारलाई राहत वितरण गरेका छन् । जिल्लाका तीन नगरपालिका र सात गाउपालिका गरेर दश वटै स्थानिय तहले जिल्लाका ५ हजार ४ सय ७३ घरपरिवारलाई रातत वितरण गरेका हुन् । उनीहरुले राहत स्वरुप चामल, नुन, तेल, दाल वितरण गरेका छन् । जिल्लाका सबै स्थानिय तहले पहिलो चरणको राहत वितरण कार्य सकिएको जनाएका छन् ।
जिल्लाको शारदा नगरपालिकाले सबै भन्दा धेरै ९ सय १६ घरपरिवारलाई राहत वितरण गरेको छ । यस्तै बागचौर नगरपालिकाले ८ सय ९० घरपरिवार, बन्गाड कुपिण्डे नगरपालिकाले ७ सय ५३ बिपन्न घरपरिवारलाई राहत वितरण गरेको जनाएका छन् । यस्तै कालीमाटी गाउपालिकाले ८ सय १३ घरपरिवार, दार्मा गाउपालिकाले ४ सय ८४ घरपरिवार, छत्रेश्वरी गाउपालिकाले ४ सय ५७ घरपरिवार, कुमाख गाउपालिकाले ४ सय घरपरिवारलाई राहत वितरण गरेको छ । यस्तै सिद्धकुमाख गाउपालिकाले २ सय ७५ घरधुरी, त्रिबेणी गाउपालिकाले ३ सय ५७ घरपरिवार र कपुरकोट गाउपालिकाले १ सय २८ बिपन्न घरपरिवारलाई राहत वितरण गरेका जनाएका छन् ।
असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक तथा बिपन्न परिवारलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड अनुसार नै वितरण गरिएको त्रिबेणी गाउपालिका अध्यक्ष मान बहादुर डाँगीले बताउनुभयो । वडा स्तरबाट सङ्कलन भएको तथ्याङ्कमा पूर्ण छलफल गरी राहत वितरण गरिएको उहाँको भनाई छ । पहिलो चरणमा २ सय ५७ घरपरिवारलाई राहत वितरण गरेको गाउपालिकाले दास्रो चरणको राहत वितरण गर्न शुरु गरेको छ । सोही अन्र्तगत आइतवार १ सय घरपरिवारलाई राहत वितरण गरिएको गाउपालिकाले जनाएको छ ।
लगातारको बन्दाबन्दीका कारण दैनिक जीविकोपार्जन गर्न समस्या भएकाहरूलाई राहत वितरण गरेको सिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले बताउनुभयो । वितरण प्रक्रियालाई एकद्धार प्रणालीबाट लागु गर्नुको साथै पीडितहरू कोही पनि नछुटुन् र नदोहोरिउन् भन्नेमा गाउँपालिका सचेत रहेको उहाँको भनाई छ । जनप्रतिनिधिहरूको रोहबरमा राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको उहाँले बताउनुभयो । अहिले नै दोस्रो चरणको राहत वितरण गर्ने तयारी नरहेको गाउपालिकाको भनाई छ ।
दैनिक ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न परिवारलाई राहत वितरण गरिएको दार्मा गाउपालिकाले जनाएको छ । गाउपालिकामा ३ हजार ६ सय ३९ घरधुरी रहेका छन् । ती मध्ये १ हजार बढी घरपरिवारले सरकारी मार्फत सहुलियतमा खाद्यान्न लिएको दार्मा गाउपालिकाले जनाएको छ ।