सल्यान २२, बैशाख ।
कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसको संक्रमण देखिएको छैन् । तर कोरोनाको संक्रमण नदेखिए पनि कर्णाली प्रदेशका ३ जिल्ला ‘एलोजोन’ (आंशिक जोखिमयुक्त क्षेत्र) मा रहेका छन् । बाँकी ७ जिल्ला भने ‘ग्रीनजोन’ (न्यून जोखिमयुक्त क्षेत्र) मा राखिएको छ ।
सुरक्षा निकायले देशभरको जोखिमको अवस्था विश्लेषण तथा आँकलन गरी कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा रणनीतिक रायसुझाव प्रतिवेदन पेश गरेका छन् । उक्त प्रतिवेदनमा कर्णालीका सल्यान, सुर्खेत र रुकुम पश्चिम एलोजोनमा रहेका उल्लेख छ । हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालीकोट, दैलेख र जाजरकोट भने ग्रीनजोनमा रहेका छन् । प्रतिवेदन अनुसार ७७ मध्ये कर्णालीका ७ सहित २० जिल्ला मात्र ग्रीनजोनमा रहेका छन् । एलोजोनमा रहेका २८ जिल्लामध्ये ३ जिल्ला कर्णालीका छन् । २९ जिल्ला भने ‘रेडजोन’ (उक्त जोखिमयुक्त क्षेत्र) मा रहेका छन् ।
प्रतिवेदनमा जोखिमको अवस्था हेरेर लकडाउन लम्ब्याउने वा कुन मोडालिटीमा लैजाने भन्नेबारे छलफल भइरहेको छ । प्रतिवेदनमा रेडजोनमा रहेका जिल्ला भित्रमा मुख्य संक्रमित स्थानलाई हटस्पट तोकेर पूर्णलकडाउन पालना गर्ने र त्यस्ता हटस्पट क्षेत्रलाई सिलबन्दी गर्नुपर्ने उल्लेख छ । एलोजोजनमा पर्ने जिल्लामा आंशिक लकडाउन जारी राख्ने, तर रेडजोन क्षेत्रमा पर्ने जिल्लाबाट ती जिल्लामा प्रवेश निषेध गर्नुपर्ने सुझाव दिइएको छ ।
ग्रीनजोन क्षेत्रमा भने लकडाउन खुकुलो पार्ने र सामाजिक दुरी कायम हुने गरी गतिविधि जारी राख्ने तर एलोजोन र रेडजोन क्षेत्रमा पर्ने जिल्लाबाट ती जिल्लामा प्रवेश निशेध गर्नुपर्ने सुझाव दिइएको छ ।