सल्यान २६, बैशाख ।
सल्यानमा चालु आर्थिक बर्षको हाल सम्म १५ वटा बन्यजन्तुको उद्धार गरिएको छ । जिल्लाका बिभिन्न बस्ती तथा बस्ती आसपासका क्षेत्रहरुमा गरेर ११ वटा घोरल, १ वटा हुडार र ३ वटा रतुवाको उद्धार गरी उनीहरुलाई अनुकुल हुने बाताबरणमा छोडिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।
जंगलमा बासस्थानको अभाव, खडेरी, पानीको अभाव लगायतका कारण वन्यजन्तु गाँउबस्ती तिर झर्न थालेको डिभिजनल वन अधिकृत रमेश कुमार गिरीले जानकारी दिनुभयो । जंगलमा पानीका मुहान सुक्नु, बन्यजन्तुको वातावरण अनुसारको व्यवस्थापन नहुनु, चोरी सिकारी हुनु जस्ता कारण बस्तीतिर पस्न थालेको उहाँको भनाइ छ ।
चोरी शिकारी, कुकुरले लखेट्ने तथा जलवायु परिवर्तनका कारण वन्यजन्तु बस्तीतिर झर्ने गरेका हुन् । बस्तीमा झर्ने गरेका बन्यजन्तुहरुको स्थानिय, वन उपभोक्ता समितीका पदाधिकारी, प्रहरी र वन कार्यालयको समन्वयमा उद्धार गरि उनीहरुलाई अनुकुल हुने वनजंगलमा छोड्ने गरिएको छ । बिभिन्न निकायको समन्वयमा बुधबार उद्धार गएिको घोरललाई बिहीवार अनुकुल हुने जंगलमा छोडिएको छ ।