सल्यान २६, बैशाख ।
सल्यानका किसानहरुले मकै रोप्न शुरु गरेका छन् । यसपटक समयमै बर्षात भएपछि किसानहरुले मकै रोप्न थालेका हुन् । आकासे पानीको भरमा खेती गदै आएका यहाँका किसान बन्दाबन्दी कै समयमा पनि मकै छर्न ब्यक्त बनेका छन् । जिल्लाको अधिकांश जमिनमा सिंचाईको सुविधा छैन । सिंचाइको सुविधा नहुँदा जतिवेला आकासे पानी पर्छ त्यही मौका छोपेर बाली लगाउने गरिन्छ ।
जिल्लाका ग्रामिण भेगका किसान अहिले बारीमा गोठे तथा स्याउले मल बोक्ने र मकै रोप्ने कार्यमा ब्यस्त छन् । गहुँ काटे लगत्तै किसानहरु मकै रोप्न ब्यस्त भएका हुन् । बैशाखमै रोपेको मकैको उत्पादन राम्रो हुने किसानको भनाई छ । जिल्लाका किसानहरुले मनकामना–३, देउती, अरुण–२ लगाएतका जातको मकैको वीउ लगाउदैँ आएका छन् ।
बिगत लामो समय देखी बन्दाबन्दी जारी रहेपनि जिल्लामा वीउको अभाव नरहेको कृषि बिकास कार्यालय सल्यानले जनाएको छ । किसानले रोजेकै वीउ नपाएपनि बिकल्पमा अन्य वीउको प्रयोग गरिरहेको तर वीउ नै अभाव भएर जमिन बाँझो रहने अबस्था नरहेको कार्यालयको भनाई छ । जिल्लामा करिब १९ हजार ३ सय हेक्टर क्षेत्रफलमा मकैँ खेती हुनेगरेको कार्यालयका सुचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा गत बर्ष ६२ हजार १ सय ४५ मेट्रिक टन मकैँ उत्पादन भएको थियो । ती मध्ये केही मकैँ जिल्लामा नै खपत हुन्छ भने बाँकी जिल्ला वाहिर निर्यात हुन्छ । अहिले पनि जिल्लाको मकैँ खेती गरिने कुल क्षेत्रफल मध्ये करिब ५ प्रतिशत क्षेत्रफलमा हाइव्रेट जातको मकैँ खेती हुने गरेको उहाँको भनाई छ ।
कार्यालय प्रमुख महेश आचार्यले किसानलाई अनुदानमा वीउ वितरण गर्ने कार्यक्रम नरहेको बताउनुभयो । ‘कृषि सडक तथा सिँचाई निर्माण क्षेत्रको बजेटको १० प्रतिशत कृषिमा खर्च गर्ने कार्यबिधि अनुसार वीउ तथा औजार उपकरण खरिदमा खर्च हुन्छ’ उहाँले भन्नुभयो ‘कृषि पकेट क्षेत्रमा पनि यस खालको कार्यक्रम सञ्चालन हुदैँ छ, तर सबै किसानका लागी भनेर अनुदानमा वीउ वितरण कार्यक्रम भने छैन् ।’
कपुरकोट गाउपालिका अन्र्तगत कृषि शाखा प्रमुख टिका राईले अहिले किसान लक्षित वीउ वितरणको कार्यक्रम नरहेको बताउनुभयो । गत माघ महिनामा कार्यालयले टमाटर, काउली, बन्दा लगाएत तरकारीको वीउ वितरण गरेको बताउदैँ उहाँले अहिले मकैँ लगाएत तरकारीको वीउ वितरण गर्ने कार्यक्रम गाउपालिकामा नरहेको जानकारी दिनुभयो ।