कोरोनाको त्रासमा सल्यानका एम्बुलेन्स चालक

‘न सुरक्षा सामाग्री, न थप सेवासुबिधा’

सल्यान २६, बैशाख ।
सल्यानका एम्बुलेन्स चालकहरुले जोखिम मोलेरै एम्बुलेन्स चलाउन बाध्य भएको गुणासो गरेका छन् । कोरोना भाइरसको संक्रमण बिश्वभर फैलिएको अहिलेको अबस्थामा आफुहरु जोखिम मोलेर एम्बुलेन्स चलाउन बाध्य भएको उनीहरुले गुणासो गरेका हुन् । उनीहरु आबश्यक सुरक्षा सामाग्रीको ब्यबस्था नहुदाँ पनि बिरामीहरुलाई ओसारपसार गर्न बाध्य भएका छन् ।

सिद्ध कुमाख गाउपालिकाका एम्बुलेन्स चालक बिष्णु बोहराले आबश्यक सुरक्षा सामाग्रीको ब्यबस्था नहुदाँ पनि आफुले एम्बुलेन्स चलाउदैँ आएको बताउनुभयो । ‘पर्याप्त मात्रामा पञ्जा, मास्क, सेनिटाइजर छैन्, एम्बुलेन्स पनि पाटेशन गरिएको छैन्’ उहाँले भन्नुभयो ‘ठाँउ ठाँउबाट फोन आउँछ, बिरामी लिएर दौडन्छौँ, आफ्नो ज्यानको बाजी राख्नु परेको छ, जोखिम मोलेरै भएपनि एम्बुलेन्स चलाउनु परेको छ ।’ आबश्यक सामाग्रीको लागी गाउपालिकामा माग गरिएको तर अहिलेसम्म नआएको उहाँको भनाई छ ।

यस्तै दार्मा गाउपालिकाका एम्बुलेन्स चालक तुलसीराम बुढाथोकीले पनि अहिलेको अबस्थामा आबश्यक सर्तकता विना नै दाङ्ग, नेपालगञ्ज, बुटवल बिरामी लिएर आउजाउ गर्नुपर्ने भएकाले जोखिम धेरै भएको बताउनुभएको छ । ‘नेपालमा कोरोनाको संक्रमण बढ्दै गएको अबस्थामा म पनि उच्च जोखिममा छु, मेरो कारण घरपरिवारमा समस्या नहोस् भनेर २ महिना जति भयो, घरमा गएको छैन्’ उहाँले भन्नुभयो । गाँउपालिकाले प्रोत्साहन स्वरुप केही सेवासुविधा दिने आश्वासन दिएपनि अहिले सम्म आफुले नपाएको उहाँको भनाई छ ।


प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखराका एम्बुलेन्स चालक यज्ञ बहादुर केसीले एम्बुलेन्समा ज्वरो नाप्ने थर्मल गन, एम्बुलेन्समा छर्कने किटनाशक औषधि नहुदाँ समस्या हुने गरेको बताउनुभयो । ‘हामी सेवा गर्न खटिएका हौँ, तर आबश्यक सामाग्री नहुदाँ समस्या भएको छ, हामीले कस्तो खालको बिरामी बोकेका छौँ भन्ने नै थाहा हुदैँन, यदी हामीले सोध्यौँ भने पनि तपाई डाक्टर हो र सोध्ने भनेर नराम्रो तरिकाले हेर्छन्’ उहाँले गुणासो गर्नुभयो । संयुक्त एम्बुलेन्स चालक संघ सल्यानका अध्यक्ष समेत रहेका केसीले एम्बुलेन्स चालक कोरोनाको उच्च जोखिममा रहेको बताउनुभयो ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा करिब एक दर्जन एम्बुलेन्स सञ्चालनमा रहेका छन् । कार्यालयका प्रमुख डा. अर्जुन कुमार बुढाले जिल्लामा सञ्चालित सबै एम्बुलेन्सलाई आबश्यक सतर्कता अपनाउदैँ पाटेशन गरेर सञ्चालन गर्न आग्रह गरिएको बताउनुभयो । ‘एम्बुलेन्स चालक जोखिममा नै हुन्छन्, पाटेशन र आबश्यक सुरक्षा सुरक्षा अपनाएर एम्बुलेन्स चलाउँदा खासै समस्या पर्दैन तर उच्च सतर्कता अपनाउनु पर्छ’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस