सल्यान २७, बैशाख ।
सल्यानको बागचौर नगरपालिकाले एक हजार बढी घरपरिवारलाई राहत वितरण गरेको छ । कोरोना भाइरस रोकथामको लागी सरकारले जारी गरेको बन्दाबन्दीका कारण दैनिकी चलाउन समस्या भएका एक हजार ४६ घरपरिवारलाई पहिलो चरणमा राहत बितरण गरेको हो ।
नगर कार्यपालिकाले पारित गरेको ‘बागचौर क्षेत्रमा श्रमीक वर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड २०७६’ अनुसार वडा कार्यालयले सर्वपक्षीय छलफलबाट सिफारिस गरेका घरपरिवारलाई वडा कार्यालयबाटै राहत वितरण गरिएको नगरप्रमुख लोकमान बुढाथोकीले जानकारी दिनुभयो ।
नगरपालिकाका अनुसार वडा नम्बर १ मा ८८ घरपरिवार, २ मा एक सय घरपरिवार, ३ मा ८० घरपरिवार, ४ मा एक सय एक घरपरिवार र वडा नम्बर ५ मा ९७ घरपरिवारलाई राहत वितरण गरिएको छ । यस्तै वडा नम्बर ६ मा ८९ घरपरिवार, वडा नम्बर ७ मा ८३ घरपरिवार, वडा नम्बर ८ मा ९९ घरपरिवार, ९ मा ४३ घरपरिवार, १० मा ८९ घरपरिवार, ११ मा ९५ घरपरिवार र वडा नम्बर १२ मा ८३ घरपरिवारलाई राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।