सल्यान २८, बैशाख ।
सल्यानको दार्मा गाउपालिकाले गाउपालिका भित्र १६ टन चामल लगाएतको खाद्य सामग्री मौज्दात रहेको जनाएको छ । झण्डै २ हजार घरपरिवारलाई सुपथ मूल्यमा चामल बिक्री गरेको गाउपालिकामा अझै १६ टन चामल लगाएतको खाद्य सामाग्री मौज्दात रहेको गाउपालिकाले जनाएको हो । गाउपालिकाका ६ वटा वडाका १ हजार ९ सय २७ घरपरिवारलाई सुपथ मूल्यमा ७ सय ३२ क्विन्टल चामल लगाएतका सामान बिक्री वितरण गरिएको छ ।
जस अन्र्तगत ढाकाडाम महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड मार्फत चामल ४ सय ४० क्विन्टल, जनाधार र मातृभूमि महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड मार्फत चामल १ सय ४० क्विन्टल र भल्चौर महिला साना किसान कृषि सहकारी सस्था लिमिटेड मार्फत चामल १ सय ५२ क्विन्टल बिक्री वितरण गरिएको छ ।
यस्तै समुदायस्तरबाट सहमति भई वडाबाट सिफारिस भएका ३७ घरधुरी अतिबिपन्न परिवारलाई गाउँपालिकाबाट निशुल्क राहत प्रदान गरिएको गाउपालिका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार निवेदन दिएका ४ सय ८४ घरपरिवारलाई समुदायको सर्वसम्मत सहमति र वडाको सिफारिस आएसँगै वितरण गरिने छ । दार्मा गाउँपालिकामा ३ हजार ६ सय ३९ घरधुरी रहेका छन् ।