सल्यान २९, बैशाख ।
सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिकाको क्वारेन्टाइनमा दुई जना थपिएका छन् । यसअघि क्वारेन्टाइन रहेका ६४ जनालाई स्वास्थ्य परिक्षण पछि घर पठाएकै दिनमा थप दुई जना थपिएका छन् । बाराको करुणा इट्टाभट्टामा मजदुरी गर्दै आएका उनीहरु लकडाउन लम्बिदै जाँदा आफ्नो घर सल्यान फर्किएका छन् । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ९ गिठाचौर आफ्नै घर आएका उनीहरुलाइ घर परिवारले समेत वस्न दिएनन् ।
शुक्रबार राती उनीहरु घर आएपनि घर भित्र बस्न पाएनन् । जस अनुसार परिवारले उनीहरुलाई गहुँ बारीमा नै खाना पुर्याए भने बारीमा नै बसे । बाहिरबाट फर्किएकाहरुको बसाई गहुँ वारीमा नै भएको जानकारी पाएपछि नगरप्रमुख गोविन्द कुमार पुनको समन्वयमा अहिले उनीहरुलाई नगरको क्वारेन्टाइनमा राखिएको छ ।
कोरोना भाइरसबाट बच्नको लागी संक्रमणको उच्च जोखिममा रहेका जिल्लाबाट फर्किएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको वडाअध्यक्ष इन्द्रबहादुर कुमाईले जानकारी दिनुभयो ।