सल्यान २९, बैशाख ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागी सरकारले जारी गरेको लकडाउनका कारण यातायातका साधन सञ्चालन नभएपछि सल्यानका यातायात ब्यबसायी संकटमा परेका छन् । लकडाउनका कारण सार्वजनिक यातायात क्षेत्र पूर्ण रूपमा प्रभावित बनेको छ भने ढुवानीका साधन पनि छिटफुट मात्रै चलेका छन् । यातायात क्षेत्र प्रभावित हुँदा यातायात व्यवसायी र यातायात क्षेत्रका मजदूर संकटमा परेका हुन् ।
लकडाउन भएसंगै दैनिक काम गरी गुजारा चलाउने मजदुरहरूलाई घरखर्च चलाउन मुस्किल भएको छ । जिल्लामा सल्यान रुकुम यातायात प्रालि, सल्यान शारदा यातायात प्रालि, कुमाख यातायात प्रालि र शारदा यातायात प्रालिमा गरी एक सय पचास बढी सवारीसाधन रहेका छन् । यस्तै शिव गुफा यातायात प्रालि र आरएस यातायात प्रालिमा गरी एक सय बढी अटो रहेका छन् ।
सल्यान टुडेसँग कुराकानी गर्दै यातायात ब्यबसायी कुल बहादुर पुनले लकडाउनका कारण यातायात ब्यबसायी धेरै मर्कामा परेको बताउनुभयो । अहिले गाडीको किस्ता तिर्न समेत समस्या भएको उहाँको भनाई छ । ‘झण्डै २ महिना हुन थाल्यो, गाडी चलेको छैन्, मासिक ४६ हजार गाडीको किस्ता मात्रै तिर्नुपर्छ, चालकलाई तलव दिनुप¥यो, त्यही गाडीले कमाएको पैसाले घरखर्च चलाउदैँ आएको थिए, अहिले निकै समस्या भएको छ’ उहाँले भन्नुभयो ।
कोरोना भाइरसको संक्रमण बढेसँगै गरिएको लकडाउनले यतिबेला यातायात व्यवसायीहरू सबैभन्दा बढी मर्कामा परेको सल्यान शारदा यातायात सेवा प्रालिका अध्यक्ष डम्बर सिंह तिरुवाले सल्यान टुडेलाई बताउनुभयो । ‘सबै यातायात व्यवसायीहरूले बैंक लोनमा गाडी किनेका हुन्छन्, यस्तो अबस्थामा धेरै ब्यबसायीहरुले किस्ता तिर्न सकेका छैनन्’ उहाँले भन्नुभयो । अहिले यातायात प्रालि र ब्यबसायीहरुको आर्थिक अबस्था कमजोर रहेको उहाँको भनाई छ ।
लकडाउन खुले लगतै पनि बैंक किस्ता तिर्न समस्या हुने यातायात ब्यबसायीको भनाई छ । यातायात क्षेत्र पहिलेकै अवस्थामा जानका लागि न्यूनतम एक वर्ष लाग्ने व्यवसायीहरूले बताउने गरेका छन् ।