दुर्गा बिसी,
सल्यान ३, जेष्ठ ।
सल्यानको पश्चिमी क्षेत्रमा अबस्थित बन्गाड कुपिण्डे नगरपालिकाका ६ हजार बढी मजदुरीको लागी भारतमा रहेको तथ्यांक सार्वजनिक भएको छ । नगरपालिकाका बिभिन्न वडाका गरेर ६ हजार ८६ जना भारतमा रहेको तथ्यांक सार्वजनिक भएको हो । रोजगारीको शिलशिलामा भारत पुग्नेमा वडा नम्वर १ मा १ हजार ५० जना, वडा नम्वर २ मा ६ सय ६७जना, ३ मा ९ सय ६९ जना, ४ मा ५ सय ७९ जना रहेका छन् । यस्तै वडा नम्बर ५ मा ६ सय ३४ जना, ६ मा ४ सय ९८ जना, ७ मा ३ सय ५१ जना, ८ मा ५ सय ४१ जना, ९ मा ३ सय ४५ जना, १० मा १ सय ३७ जना, ११ मा १ सय ७५ जना र १२ मा १ सय ३० जना रहेको नगरपालिकाको तथ्यांकमा उल्लेख गरिएको छ ।
यससँगै नगरपालिकाको वडा नम्वर ४, ५ र ६ का मात्रै आज १ सय वढी नेपालगञ्ज नाकामा रोकिएको बुझिएको छ । भारतबाट नेपाल आउँदै गरेका महेन्द्र वुढाका अनुसार उनीहरु रुपैडिया नाकामा अड्किएका छन् । उनीहरुले सहयोगको लागि सम्बन्धि निकायलाई गुहार मागेका छन् । यस नगरपालिकाले एउटा मात्रै क्वारेन्टाइन निर्माण गरेको छ । अहिलेको अबस्थामा उनीहरु नगरमा भित्रिएमा उनीहरुलाई ब्यबस्थापन गर्न चुनौती हुने निश्चित बनेको छ ।
यस्तो अबस्थामा नगरपालिकाको आज वसेको नगर कार्यपालिकाको बैठकले थप ३ क्वारेन्टाइन वनाउने निर्णय गरेको छ । बनगाड क्याम्पस बनगाड, भेरी आधारभुत विद्यालय गरा र नवज्योती माद्यामिक बिद्यालय अँधेरीमा हाललाई ३ वटा क्वारेन्टाइन बनाउने निर्णय भएको नगर प्रमुख तथा नगर विपद व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कुमार पुनले जानकारी दिनु भएको छ ।
नगरमा भारतबाट आएका नागरिकको कसरी व्यवस्थापन गर्ने भन्नेमा बैंठक केन्द्रत रहेको उहाँको भनाई छ । मजदुरीको लागी भारत सहित अन्तरजिल्ला गएका हजारौँ मानिसहरु लकडाउनका कारण उतै थुनिएका छन् । त्यहाँ पनि समस्या भएपछि धमाधम घर फर्किने क्रम वढिरहेको छ ।
खाद्य पसल हप्तामा ३ दिन मात्रै खोलिने
सल्यानको बन्गाड कुपिण्डे नगरपालिका भित्र खाद्य पसल हप्तामा ३ दिन खोलिने भएको छ । आइतवार, विहिवार र शुक्रबार विहान ६ वजे देखि ९ बजेसम्म र बेलुका ४ वजे देखि ६ वजे सम्मको समय तोकिएको छ । अत्यावश्यक औषधि पसलहरु नियमित खुल्ने र तरकारी पसलहरु भने नियमित तथा खाद्य पसल खुल्ने समय अनुसार दैनिक सञ्चालन गर्ने निर्णय जनाएको छ ।