सल्यान ५, जेष्ठ ।
सल्यानका सयौँ नागरिकहरु नेपाल भारतको सिमा क्षेत्रमा अलपत्र परेका छन् । मजदुरीको लागि भारत पुगेका सल्यानका नागरिकहरु लकडाउनको कारण समस्यामा परेपछि घर फर्कन थालेका उनीहरु समस्यामा परेका हुन् ।
घर फर्कने भनेर आएका उनीहरु ३ दिन देखी सिमा नाका रुपैडियामा अलपत्र परेका छन् । खाना र बस्नको ब्यबस्था नहुदाँ समस्या भएको उनीहरुको गुणासो छ । बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ४ का महेन्द्र वुढाका अनुसार उनीहरुलाई सिमावत्ती पिजी कलेज वहराइह पान्डेनगर जैतापुरमा राखिएको छ ।
यस क्षेत्रमा मात्रै ५० जना राखिएको छ भने बाँकीलाई अर्को स्थानमा राखिएको अर्का दलजित वुढाले जानकारी दिनुभयो । ३ दिन देखि राम्रोसँग खान र सुत्न नपाएको उनिहरुको दुखेसो छ । लकडाउनका कारण भारतको विभिन्न स्थानबाट नेपालीहरु सिमा नाकामा आउने क्रम ह्वात्तै वढेको छ ।
दैनिक जसो भारती मालवाह ट्रक, वसले नेपालीहरुलाइ सिमा नाकामा ल्याउदै छाड्दै गर्ने गरेको छ । सिमा नाकामा आएर नेपाल भित्रन नपाएका नेपालीहरुको अवस्था नाजुक बन्दै गएको छ । खाना र वस्न समेतको व्यवस्थापन नहुदा दैनिकी कष्टकर वनेको वुढाको दुखेसो छ ।
सिमाना रुपैडिया आइपुगेका उनीहरुलाइ ४ किलोमिटर भारतकै स्थानमा राखिएको छ । मजदुरी गर्न भारत पुगेका उनीहरु काम गर्न ठाउँमा समेत खान नपाउँदा वाध्य भएर ट्रकहरुमा कोचिएर धमाधम आउन थालेका छन् । आफुहरु जिल्लामा फर्किएपछि क्वारेन्टाइनमा बस्ने बताउदैँ तत्काल सिमानाकाबाट उद्धार गर्न उनीहरुले माग गरेका छन् ।