सल्यान ७, जेष्ठ ।
सल्यानका अति बिपन्न बादी समुदायलाई राहत वितरण गरिएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १ शान्तीनगरका ४३ अति बिपन्न घरपरिवारलाई राहत स्वरुप खाद्यान्न बितरण गरिएको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले जारी गरेको लकडाउनका कारण दैनिकी चलाउन समस्या भएका घरपरिवारलाई खाद्यान्न बितरण गरिएको दलित सेवा संघ सल्यानले जनाएको छ ।
शारदा नगरपालिका संगको समन्वय तथा दलित सेवा संघ सल्यानको पहल, नर्वेको सहयोग र शारदा नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष नवराज बुढाथोकीको रोहवरमा राहत बितरण गरिएको हो । परम्परागत पुख्र्यौली पेशा लोप हुदै गएको र खोलाको गिट्टी वालुवा बेचेर दैनिकी चलाउदै आएका तथा बन्दाबन्दीबाट प्रभावित भएका बादी समुदायलाई राहत वितरण गरिएको संस्थाका अध्यक्ष दिल बहादुर परियारले जानकारी दिनुभयो ।
जसअनुसार ४३ घरधुरी बादी समुदायमा १ हजार ७५ केजी चामल, ८६ केजी दाल, ८६ केजी नुन, ४३ लिटर तेल, ८६ वटा कपडा धुने सावुन र ४३ वटा हात धुने साबुन वितरण गरिएको हो । बन्दाबन्दीका कारण समस्या परेका परिवारहरुलाई मात्रै राहत स्वरुप खाद्यान्न बितरण गरिएको संस्थाका कार्यक्रम संयोजक यज्ञ कुमार बिकले जानकारी दिनुभयो ।
शारदा नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष नवराज बुढाथोकीले स्थानीय सरकारलाई कोरोना भाईरसको जोखिम ब्यबस्थापन तथा न्युनिकरण प्रतिकार्यमा सहयोग गर्न दातृ निकायसंग पहल गरि बिभिन्न निकायहरुले सहयोग गरिरहेको बताउदैँ आगामी दिनहरुमा पनि सहकार्य गरेर अगाडी बढ्ने बताउनुभएको थियो ।
संस्थाले जिल्लाका शारदा नगरपालिका, बनगाड कुपिन्डे नगरपालिका र कालीमाटी गाउपालिकामा बिभेदमा पारिएका समुदायको जिविकोपार्जन सुधार परियोजना संञ्चालन गरि ५ सय घरधुरी दलित समुदायमा खाध्य तथा पोषण सुरक्षा गर्दै गरिबी न्युनिकरण गर्न परियोजना सञ्चालन गरिरहेको छ ।