कोरोना परीक्षण बिना नै चार सय नागरिक सल्यान भित्रिए

ब्यबस्थापनमा चुनौती

सल्यान ८, जेष्ठ ।
नेपालमा कोरोना भाइरसको संक्रमण फैलदैँ गएको बेला परिक्षण बिना नै सल्यानमा करिब चार सय नागरिक भित्रिएका छन् । भारतका विभिन्न स्थानबाट नेपालगन्ज आएकालाई कोरोना भाइरस भए÷नभएको कुनै पनि परीक्षण नगरेरै सल्यान पठाईएको हो । जिल्लाको कपुरकोट नाकाबाट ५८ जना र बबई नाकाबाट ३ सय ७९ जना जिल्ला भित्रिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

ठूलो संख्यामा आएका ती नागरिकहरुलाई स्थानीय तहले निर्माण गरेका क्वारेनटाइनमा ब्यबस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभएको छ । भारतका विभिन्न स्थानमा रोजगारीका लागि झन्डै १८ हजार सल्यानी पुगेका छन् । लकडाउन यता करिब एक हजार नागरिक आइसकेका भने ६ देखि ७ हजार नागरिक आउने अनुमान गरिएको उहाँको भनाई छ ।

जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले बबइ नाकामा आएका ३ सय ७९ जना मध्ये २ सय ७९ जनाले जिल्ला प्रवेश गरेको बताउनुभएको छ । जसमा बन्गाड कुपिण्डे नगरपालिकाका २ सय २७ जना, कुमाख गाउपालिकामा ३१ जना, दार्मा गाउपालिकामा ४ जना, कालीमाटी गाउपालिकामा २ जना र सिद्धकुमाख गाउपालिकाका १ जना रहेका छन् ।

यस्तै सुर्खेतको सिम्ताका १० जना, जाजारकोटका २ जना र रुकुमका २ जना रहेका छन् । सबैलाई स्थानिय तहमा रहेको क्वारेन्टाईनमा राखिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।


दुई गुणा चर्को भाडा तिरेर आए नागरिक
भारतबाट नेपालगन्ज नाका हुँदै आएका सल्यानका नागरिकहरुले दुई गुणा भाडा तिरेर जिल्ला आइपुगेको बताएका छन् । बाँके प्रहरी र यातायात व्यवसायीले चर्को भाडा तिराएर जिल्ला पठाएको उनीहरुले बताए । कतिपयले नगद नभएपछि मोबाइल बिक्रीसमेत गरेका छन् । कपुरकोट नाकामा आएका नागरिकहरुले प्रतिव्यक्ति १५ सय रुपैयाँ भाडा तिरेको बताएका हुन् ।

यस्तै बबई नाकाबाट आएका नागरिकहरुले पनि साढे तीन सय भाडा भए पनि एक हजार रुपैयाँ तिरेका छन् । नेपालगन्जमा १५ सय नदिए डण्डा लगाउँछौ भन्दै गाडीमा आफूहरुलाई राखिएको बनगाड कुपिण्डे नगरपालिकाका गोपीलाल रानाले बताउनुभयो । भारतमा भन्दा नेपालमा आएपछि थप दुःख पाएको उहाँको गुनासो छ ।

कपुरकोट नाकामा ६० जनाको आरडिटि परिक्षण

सल्यानको कपुरकोट नाकाबाट जिल्ला भित्रिएका ६० जनाको आरडिटि परिक्षण गरिएको छ । भारतबाट कपुरकोट नाका हुँदै आएका ५८ जना सल्यानका रहेका छन् भने २ जना गाडीका चालक र सहचालक छन् । ती सबै ६० जनाको आरडीटि गर्दा रिपोर्ट नेगेटीभ आएको कपुरकोट गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जानकारी दिनुभयो ।

कोभिड १९ कपुरकोटका फोकल पर्सन देवेन्द्र कुमार सेनका अनुसार वनगाड कुपिण्डे नगरपालिकाका ३६ जना, दार्मा गाउँपालिकाका १९ जना, कपुरकोट, छत्रेश्वरी, कुमाख गाउपालिका एक÷एक जना रहेका छन् । कपुरकोट नाकामा कोरोना परिक्षण गरेकाहरुलाई रिपोर्ट दिएर सम्बन्धित स्थानिय तहमा पठाईएको छ ।

किट अभाव हुदाँ समस्या भएको छ : डा बुढा
स्वास्थ्य सेवा कार्यालय सल्यानले आरडिटि परिक्षण गर्ने किट अभाव हुदाँ समस्या भएको जनाएको छ । भारतबाट जिल्लामा चार सय बढी नागरिकहरु भित्रिए पनि आरडिटि किट अभाव हुदाँ परिक्षण गर्न समस्या भएको कार्यालय प्रमुख डा. अर्जुन कुमार बुढाले जानकारी दिनुभयो । कपुरकोट नाकाबाट भित्रिएकाहरुको आरडिटि गरिएपनि बबई नाकाबाट भित्रिएकाहरुको भने किट अभावमा गर्न नसकिएको उहाँको भनाई छ ।

‘हाम्रो मुख्य नाका बबई नाकाले परिक्षण नै नगरेर जिल्लामा पठाए छ । हामी संग ७० वटा जति मात्रै किट छ । कस्लाई चेक गर्ने कसलाई नगर्ने समस्या भयो’ उहाँले भन्नभयो । किट ल्याउनका लागि सुर्खेतमा गाडि पठाइएको जनाउदै डा. बुढाले शुक्रबार विहान मात्रै उनीहरुको आरडिटी गरिने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस