शारदा नगरपालिकामा ९ सय ३२ घरपरिवारलाई दोस्रो चरणको राहत

सल्यान ९, जेष्ठ ।
सल्यानको शारदा नगरपालिकाले दोस्रो चरणको राहत वितरण गर्न शुरु गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागी सरकारले जारी गरेको लकडाउनका कारण दैनिकी चलाउन समस्या भएका ९ सय ३७ घरपरिवारलाई नगरपालिकाले पहिलो चरणमा राहत वितरण गरेको थियो । अहिले दोस्रो चरणमा भने ९ सय ३२ घरधुरीलाई राहत स्वरुप चामल, दाल, नुन, तेल लगाएतको वितरण गर्न शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

लकडाउनको समयमा साँझ बिहानको हातमुख जोर्न समस्या भएका बिपन्न परिवारलाई छनोट गरेर राहत वितरण गर्न थालिएको नगरप्रमुख सुरेश अधिकारीले बताउनुभयो । ‘दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने नगरपालिकामा धेरै छन्, उनीहरुको छनोट गरेर राहत वितरण गरिरहेका छौँ’ उहाँले भन्नुभयो ‘वडा कार्यालयको सिफारिसमा राहत वितरण हुन्छ ।’ उहाँले बिपन्न परिवार छनोट गर्दा पहिलो चरणमा राहत पाएकोले पनि दोस्रो चरणको राहत पाउन सक्ने बताउनुभएको छ ।


नगरपालिकाले दोस्रो चरणको राहत वितरण गर्नको लागी वडा कार्यालयको सिफारिस अनुसार सबै वडाकार्यालयमा उपलब्ध गराईएको उहाँको भनाई छ । उहाँका अनुसार वडा नम्बर १ मा १ सय ३५ घरपरिवार, वडा नम्बर २ मा ७४ घरपरिवार, वडा नम्बर ३ मा ३० घरपरिवार, वडा नम्बर ४ मा ६८ घरपरिवार, वडा नम्बर ५ मा ५० घरपरिवार, वडा नम्बर ६ मा ५५ घरपरिवार र वडा नम्बर ७ मा ८५ घरपरिवारको लागी राहत प्रदान गरिएको छ ।

यस्तै वडा नम्बर ८ मा ३५ घरपरिवार, वडा नम्बर ९ मा ३५ घरपरिवार, वडा नम्बर १० मा ३५ घरपरिवार, वडा नम्बर ११ मा ४० घरपरिवार, वडा नम्बर १२ मा एक सय घरपरिवार, वडा नम्बर १३ मा ८० घरपरिवार, वडा नम्बर १४ मा ३५ घरपरिवार र वडा नम्बर १५ मा ७५ घरपरिवारको लागी नगरपालिकाले राहत उपलब्ध गराएको छ । अहिले नगरका केही वडाले राहत वितरण गर्न शुरु गरेका छन् ।

आफ्नो वडाका बिपन्न ३० घरपरिवार छनोट गरेर दोस्रो चरणको राहत वितरण गरिएको शारदा नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष टोप बहादुर थापाले जानकारी दिनुभयो । लकडाउनका कारण समस्यामा परेका उनीहरुलाई राहत बितरण गरिएको उहाँको भनाई छ । यस्तै शारदा नगरपालिका वडा नम्बर ८ र ९ ले पनि दोस्रो चरणको राहत वितरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस