सल्यान ९, जेष्ठ ।
सल्यानमा पहिलो पटक किसानले लगाएको मकैँ बालीमा फौजी किराको प्रकोप देखिएको छ । जिल्लाको कुमाख गाउपालिकाका किसानले लगाएको मकैमा फौजी किराको प्रकोप देखिएको हो । मकै बालीबाट राम्रो आम्दानी लिने सोच बनाएका किसान फौजी किराको आक्रमणबाट अनिकालले सताउने हो कि भन्ने चिन्तामा छन् । सल्यानको मूख्यबाली मकैँ हो ।
कुमाख गाउपालिकाको रागेचौर, स्यानीपिप्ली, शान्तिवजार, भण्डारखोला, झारकाँडा लगाएतका स्थानका किसानले लगाएको मकैमा फौजी किराको प्रकोप देखिएको हो । फागुन महिनामा किसानहरुले खेतमा छरेको मकैमा किराको प्रकोप देखिएको हो । मकैले धानचौर गर्ने बेलामा फौजी किराको प्रकोपले समस्या बनाएको रागेचौरका किसान मेघ बहादुर शाहले बताउनुभयो ।
‘मकैँले धानचौर गर्ने समय भएको छ, फौजी किराले मकै सखाप पारेको छ’ उहाँले भन्नुभयो ‘राम्रो उत्पादन हुनेभएपछि हामीले मकै खेती शुरु गरेका थियौँ, बिगतमा यस्तो प्रकोप थिएन्, पहिलोपटक मकैमा यस्तो समस्या देखा परेको छ ।’ अर्का किसान प्रकाश चन्दले आफुले लगाएको मकै पनि किराले खाएर सखाप पारेको बताउनुभयो ।
कुमाख गाउपालिकाका करिब १ सय ८० घरधुरीले लगाएको २२ हेक्टर क्षेत्रफलको मकैँमा फौजी किराको प्रकोप देखा परेको कृषि बिकास कार्यालय सल्यानले जनाएको छ । कार्यालयका सुचना अधिकारी रेशम कुमार बस्नेतले जिल्लामा पहिलो पटक फौजी किराको प्रकोप देखा परेको जानकारी दिनुभएको छ । उहाँले यस क्षेत्रको मकैमा लागेको किरा नियन्त्रण गर्न नसकिने बताउनुभएको छ ।
‘पहिलो र दोस्रो चरणको अबस्थामा औषधि प्रयोग गरेर किरा नियन्त्रण गर्न सकिन्छ, तर कुमाखमा तेस्रो र चौथो चरणमा प्रवेश गरेको पाईयो छ, यसलाई नियन्त्रण गर्न सकिदैन’ उहाँले भन्नुभयो ‘पाखोवारीमा रोपेको मकैमा पनि प्रकोप फैलन सक्ने भएकाले सजकता अपनाउन हामीले किसानलाई सुझाव दिएका छौँ ।’
‘अमेरिकन फौजी किरा मकैबालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने किरा हो, यो राति चर्न मन पराउँछ, बालीमा क्षति पु¥याउने कीराको लार्भाले हो, फौजी कीराको लार्भा धेरै खन्चुवा हुन्छ, मकैको पात, गुभो, जुँगा र घोगा समेत खाइदिन्छ’ उहाँले भन्नुभयो । मकैमा लागेको फौजी किराले उत्पादनको ७० देखी ८० प्रतिशत सम्म क्षती प¥याउने उहाँको भनाई छ ।
जिल्लाको कपरकोट लगाएतको क्षेत्रमा लगाएको मकैमा पनि प्रकोप देखिएको सुनिएपनि आधिकारिक रुपमा जानकारी नआएको कार्यालयको भनाई छ । जिल्लाभर करिब १९ हजार ३ सय हेक्टर क्षेत्रफलमा मकैँ खेती हुने गरेको छ ।