सुर्खेतका तीन जनामा कोरोना पुष्टी भएसँगै कर्णालीमा संक्रमितको संख्या ४ पुग्यो

सल्यान १०, जेष्ठ ।
कर्णालीमा कोरोना भाइरस (कोभीड–१९) बाट संक्रमित हुनेको संख्या चार पुगेको छ । भारतबाट सुर्खेत आएका तीन जनामा आज कोरोना संक्रमित भएको पुष्टी भएको हो । संक्रमित हुनेहरुमा सुर्खेत बराहताल गाउँपालिकाका २ र चौकुने गाउँपालिकाका एक जना रहेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो । आज पोजेटिभ रिपोर्ट आएका २२ वर्षकी महिला, २५ र ३२ वर्षका पुरुष तीनै जना सुर्खेतका हुन् । उहाँका अनुसार तीनै जनाको कोरोना विशेष अस्पताल कालागाउँमा राखिएको छ भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । कोरोना पुष्टी भएका तीनै जना जेठ ८ गते भारतबाट फर्किएका थिए ।


बबइमा गरिएको आरडीटी परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई वीरेन्द्रनगरस्थित खुलामञ्चको क्वारेन्टाइनमा राखिएको थियो । सुर्खेतमा गरिएको पीसीआर परीक्षण संकास्पद आएपछि पुनःपरीक्षणका लागि नेपालगञ्ज पठाइएको थियो । नेपालगञ्ज गरिएको पीसीआर परीक्षण समेत पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यसअघि दैलेखको आठविस नगरपालिकाका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पनि कोरोना विशेष अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस