सल्यान ११, जेष्ठ ।
सल्यानको छत्रेश्वरी गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९) का विरुद्ध खटिने जनप्रतिनिधि र कर्मचारीहरुको संस्थागत बीमा गर्ने भएको छ । गाउपालिकाले कोरोना भाइरसको रोकथाम, नियन्त्रयण, उपचार तथा व्यवस्थापनमा खटिने जनप्रतिनिधि र कर्मचारीको अधिकतम् रु. १ लाखको संस्थागत कोरोना भाइरस जोखिम बीमा गर्ने भएको हो ।
हालै सम्पन्न गाउ कार्यपालिका बैठकले अहिलेको अबस्थामा जोखिम मोलेर कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा खटिने सबैको बीमा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सन्तोष केसीले जानकारी दिनुभयो । ‘हामीले कोरोना भाइरसको रोकथाम, उपचार तथा व्यवस्थापनमा सबै जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा यस कार्यमा संलग्न सबैको बीमा गर्ने छौँ’ उहाँले भन्नुभयो ‘तर कोरोना भाइरसको रोकथामको लागी अहिलेको अबस्थामा नखटिएको अरु कर्मचारीहरुको भने बीमा हुदैन् । ’
बीमा बनाउनको लागी बीमा कम्पनीसँग छलफल भैरहेको उहाँको भनाई छ । अबको केही दिनमा नै संस्थागत रुपमा बीमा गरिने उहाँले जानकारी दिनुभयो । अध्यक्ष केसीले कोरोना भाइरस रोकथामको लागी अहिलेको अबस्थामा खटिएका सबै जनप्रतिनिधि तथा कर्मचारीमा हौसला प्रदान गर्न बीमा गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
गाउपालिकामा प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले तथ्यांक संकलन गरेर सोमबार वा मंगवार तीर बीमा गर्ने तयारी भैरहेको बताउनु भएको छ । जसमा गाउपालिकाका ३७ जना जप्रतिनिधि र वडा कार्यालय देखी गाउपालिकाको कार्यालय सम्म कोरोना रोकथामका लागी खटिने कर्मचारीहरुको बीमा गरिने उहाँको भनाई छ ।
बीमा गरेपश्चात यदी कोही जनप्रतिनिधि वा कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएमा उसले बीमा कम्पनीबाट अधिकतम् रु. १ लाख रुपैँया पाउने छ । यसका लागी सरकारी तवरबाट पिसिआर परिक्षण गर्दा कोरोना पोजिटिभ भएको पुष्टी हुनुपर्ने छ । बीमाको म्याद एक बर्षको हुने छ ।
दोस्रो चरणको राहत वितरण गर्ने तयारी
छत्रेश्वरी गाउपालिकाले दोस्रो चरणको राहत वितरण गर्ने तयारी गरेको छ । कोरोना रोकथामका लागी सरकाले जारी गरेको लकडाउनका कारण समस्यामा परेका गाउपालिकाका सबै वडाका बिपन्न परिवारलाई दोस्रो चरणको राहत वितरण गर्ने गाउपालिकाले तयारी गरेको हो । वडा कार्यालयले सर्वदलिय र सर्वपक्षिय राय सुझाव संकलन गरी रहेको र उक्त राय सुझाव तथा मापदण्डका आधारमा राहत वितरण गर्ने तयारी रहेको गाउपालिकाको भनाई छ ।