‘आलु गाँउ’ सल्यानको बाफुखोला (फोटो फिचर)

यस बर्ष रु. १८ करोडको आलु फल्ने अनुमान

सल्यान ११, बैशाख ।
सल्यानको बाफुखोला आलु खेतीका लागी प्रख्यात ठाउँ हो । साविकको बाफुखोला गाविस र हालको बागचौर नगरपालिका वडा नम्बर ११ र १२ मा पर्ने बाफुखोलाको पहिचान भनेको यहाँ उत्पादन हुने अर्गानीक आलु हो । यहाँका किसानहरुले आलुखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । आलु खेति गरेरै जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ११ र १२ बाफुखोलाका किसानहरुले वार्षिक करौडौँ रकम भित्र्याउँदै आइरहेका छन् । आलु खेति गरेर बाफुखोलामा एक घरले न्यूनतम ५० हजारदेखि ५ लाखसम्म वार्षिक आम्दानी गर्ने गरेका छन् ।


यहाँको वर्षभरिको घरखर्च टार्ने खेति भनेको आलु खेती हो । आलुखेती गरेर नै यहाँका कृषकहरुले जीवनयापन गर्दै आएको किसान खकेन्द्र कुमार खत्रीले बताउनुभयो । ‘आलु खेती र पशुपालन यहाँको मुख्य पेशा हो । मैले यस बर्ष १४ रोपनी जग्गामा आलु खेती गरेको छु । यो बर्ष २ सय क्वीन्टल फल्ने अनुमान छ । आलुखेती बाट राम्रो आम्दानी भैरहेको छ’ उहाँले भन्नुभयो ।


२०४८ सालबाट बाफुखोलामा आलु खेति शुरु भएको कृषकहरु बताउँछन् । अहिले आलुखेतीबाट राम्रो आम्दानी भैरहेको अर्का किसान बीर बहादुर वलीले बताउनुभयो । ‘मकै, गहुँ बाहेक अन्यवाली बाफुखोलामा राम्रो हुदैन् । शुरुमा घरमा तरकारी खानको लागी मात्रै आलु खेती गरिन्थ्यो । तर राम्रो उत्पादन हुन थालेपछि आलुखेती गर्न थालियो । यसलाई बिस्तार गर्न एक दशक नै लाग्यो । अहिले आलुखेती नगर्ने बाफुखोलामा कोही छैनन्’ उहाँले भन्नुभयो ।


बाफुखोलाका करिब ५ सय घरधुरीले ब्यबसायीक रुपमा आलुखेती गर्दै आएका छन् । स्थानिय चित्र बहादुर वलीले यस बर्षको आलु खन्ने समय शुरु हुन थालेको बताउनुभएको छ । ‘यस बर्षको आलु खन्ने समय शुरु हुन थालेको छ, अहिलेसम्म लकडाउनले केही असर गरेको छैन्, अब बजारको माग अनुसार आलु खनेर बजार पठाउछौँ’ उहाँले भन्नुभयो । लकडाउनका कारण भारतीय तरकारी आयात नभएकाले यस बर्ष स्थानिय उत्पादनले राम्रो बजार पाउने किसानको अपेक्षा छ ।


बाफुखोलामा यस बर्ष आलुको उत्पादन बढ्ने आँकलन गरिएको छ । बागचौर नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष दिपक वलीले गत बर्षको तुलनामा यस बर्ष करिब ३ करोड बढीको आलु उत्पादन हुने बताउनुभएको छ । ‘गत बर्ष १५ करोडको आलु निर्यात भएको हो, यस बर्ष करिब १८ करोडको आलु बाफुखोलाबाट मात्रै निर्यात हुने अनुमान छ’ उहाँले भन्नुभयो ।


राप्तीलोक मार्गको खरिबोट हँुदै कोटवारा बाफुखोला र सल्यान–रुकुम सीमाना खौला हँुदै बाफुखोलासम्म सडक निर्माण भएकाले आलु निर्यातमा खासै समस्या नरहेको उहाँको भनाई छ । जिल्लाको बाफुखोला सँगै शिवरथ, कोटवारा, ढाकाडाम लगाएतका क्षेत्रमा आलु खेती गरिन्छ । यहाँ उत्पादन भएको आलु दाङ, नेपालगञ्ज, भैरहवा, बुटवल, पोखरा लगाएतका शहरमा जानेगर्दछ ।


बाफुखोलाका ८० प्रतिशत स्थानियले आलु खेती गर्ने गरेको भएपनि आलुको अनुसन्धान केन्द्र र चिस्यान केन्द्र स्थापना नहुदाँ समस्या हुुने गरेको किसानको गुणासो छ ।

तस्वीर : बामदेव केसी

तस्वीर : बामदेव केसी

तस्वीर : बामदेव केसी

 

प्रतिक्रिया दिनुहोस