आज थप ५ जनामा पुष्टी भएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या नौ पुग्यो

सल्यान ११, जेष्ठ ।
कर्णाली प्रदेशको पहिलो संक्रमित फेला परेको दैलेख जिल्लामा आज थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश प्रयोगशालामा कोरोना पोजेटिभ देखिएपछि नेपालगञ्ज पठाएर पाँचै जनाको पुनर्पुष्टि भएको कर्णाली प्रदेश प्रयोगशालाका निर्देशक डा. रीता भण्डारीले जानकारी दिनुभयो । यो सँगै कर्णालीमा कोरोनाबाट संक्रमण हुनेको संख्या नौ पुगेको छ ।

सदरमुकाम नारायण नगरपालिका–३ का १५ वर्षीय र नारायण नगरपालिका–६ का १६ वर्षीय किशोर, त्यसैगरी डुङ्गेश्वर गाउँपालिका–१ का २९ वर्षीय एक पुरुषसंगै २७ वर्षीया उनकी श्रीमती र सोही वडाका २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरु सबै भारतबाट आएका हुन् ।


संक्रमण पुष्टि भएका पाँचै जनालाई आज सदरमुकामको सरस्वती मावि तर्ताङ्गमा रहेको कोरोना आइसुलेसन वार्डमा राखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकलपर्सन थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीहरुको सल्लाहमा संक्रमण देखिएका दम्पतिसंगै एक वर्षीय एक बालक पनि आइसुलेसनमा राखिएको डुङ्गेश्वर गाउपालिका–१ का वडाध्यक्ष लोकबहादुर डाङ्गीले बताउनुभयो ।

आज पुष्टि भएका समेत दैलेखमा कोरोना संक्रमितहरुको संख्या ६ पुगेको छ भने प्रदेशको हिसावले हिजो सुर्खेतमा फेला परेका भनिएका ३ जना समेत कर्णाली प्रदेशमा संक्रमितहरुको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस