सल्यान १२, जेष्ठ ।
कर्णाली प्रदेशमा नै पहिलो पटक सल्यानमा ब्यबसायीक रेशम खेती शुरु गरिएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर २ जोगी देउखोलामा तीन यूवाको सक्रियतामा ब्यबसायीक रेशम खेती शुरु गरिएको हो । सूर्योदय बहुउद्धेश्यीय कृषि फर्म दर्ता गरेर तीन यूवा नारायण दाहाल, यज्ञ बिक्रम शाह र देवराज सिंह राठौरले रेशम खेती शुरु गर्नुभएको हो ।
अहिले ७२ रोपनी जग्गा भाडामा लिएर रेशम खेती शुरु गरिएको दाहालले जानकारी दिनुभयो । ‘हामीले २०७४ सालमा फर्म दर्ता गरी अहिले ब्यबसायी रुपमा रेशम खेती शुरु गरेका छौँ’ उहाँले भन्नुभयो । अहिले ४० हजार किम्बुको बिरुवा रोपिएको उहाँको भनाई छ । ‘दाङको गढुवाबाट किम्बुको बिरुवा ल्याएर रोपेका छौँ, मंसिर पुस महिना देखी पहिलो चरणको रेशम उत्पादन गर्ने लक्ष्य छ’ उहाँले भन्नुभयो ।
आफु स्वरोजगार बन्ने र स्थानिय यूवालाई रोजगारी दिने उद्धेश्यले कषि फर्म सञ्चालन गरिएको उहाँले बताउनुभयो । फर्म दर्ता, जग्गा भाडा, किम्बुका बिरुवा खरिद देखी अहिले सम्म करिब रु. ५५ लाख रुपैँया खर्च भएको उहाँको भनाई छ । उहाँले पश्चिम नेपालमा रेशम खेतीको राम्रो सम्भावना देखेर सल्यानमा खेती गर्न थालिएको बताउनुभयो ।
दाहालले रेशम खेतीसँगै ब्यबसायी हाँस, कुखुरा र बाख्रा पालन गर्ने योजना रहेको बताउनुभयो । ‘हामीले रेशम खेती शुरु गरेका छौँ, यसलाई ब्यबस्थित गर्दै करिब १ हजार हाँस, एक हजार लोकल कुखुरा र उन्नत जातका ७० बढी बाख्रा पालन गर्ने योजना छ, त्यसका लागी पहिलो चरणको काम सम्पन्न गरेका छौँ’ उहाँले भन्नुभयो । रेशम खेती गर्दा किम्बुको घाँस पनि प्रयोगमा आउने गरी बाख्रापालन गर्ने तयारी गरिएको उहाँको भनाई छ ।
आसपासका क्षेत्रमा रेशम प्रशोधन केन्द्र नभएकाले यहाँ उत्पादन भएको रेशमलाई धादिङ पठाउने योजना रहेको उहाँले बताउनुभयो । ‘रेशम खेती गर्न शुरुमा समस्या हो, रेशमको धागोको बजार माग राम्रो छ, शुरुमा हामीले यहाँको रेशम जिल्ला बाहिर पठाउछौँ, पछि जिल्लामा नै प्रशोधन केन्द्र सञ्चालन गर्ने आगामी योजना छ’ उहाँले थप्नुभयो । फर्ममा अहिले ३ जनालाई रोजगारी समेत दिईएको छ ।
किम्बुको घाँस रेशम किराले खाएर कोकुन उत्पादन गर्छ । यसैबाट धागो बनाइन्छ । त्यही किम्बु नै रेशमको आहारा हो । किम्बु उत्पादन हुने ठाउँमा रेशम खेती हुन्छ । रेशम खेतीबाट अर्थोपार्जनसँगै वातावरण पनि संरक्षण हुन्छ । रेशम खेतीका लागि किम्बुको बिरुवा रोप्नु पर्छ । बिरुवा रोपिएपछि वरपरको हावापानी स्वच्छ र शुद्ध हुन्छ । वर्षमा तीन पटकसम्म रेशम उत्पादन गर्न सकिने जानकारहरु बताउँछन् ।